![]()
काठमाडौं । निर्वाचन आयोगले पूर्व प्रधानमन्त्री एवम नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाललाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता विपरीत पार्टीको निर्वाचन चिह्न अंकित टोपी लगाई प्रचार प्रसारमा संग्लन भएको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो । आयोगले २४ घण्टा भित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।
असोज २ गते प्रदेश नम्बर २ का ८ जिल्लामा हुने स्थानीय तह निर्वाचनको प्रचारप्रसारको क्रममा बीरगञ्जमा नेता नेपालले पार्टीको निर्वाचन चिह्न अंकित टोपी लगाएको आयोगको ठहर छ । सोमबार घरदैलो कार्यक्रममा नेता नेपालसहितका नेता तथा कार्यकर्ताले पार्टीको निर्वाचन चिह्न अंकित टोपी लगाएका थिए ।
त्यस्तै. राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्य रामबाबु सिंहलाई पनि २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ । सिंहको नेतृत्वमा करिब १०० वटा मोटरसाइकलमा झण्डै २०० को संख्याले पार्टीको प्रचार प्रसार र्याली निकालेकोमा स्पष्टीकरण सोधिएको हो ।
आयोगले स्थानीय तह निर्वाचनको प्रचार प्रसारको क्रममा जनकपुरमा पुग्नुभएका नेकपा (एमाले) का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध लक्षित गरी कालो झण्डा देखाउनुका साथै ढुंगा प्रहारसमेत भएको भन्ने जानकारी प्राप्त भएकाले आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सो विरोधको कार्यमा राष्ट्रिय जनता पार्टीका कार्यकर्ता संलग्न रहेको पाइएकाले स्वतन्त्ररुपमा निर्वाचन प्रचार प्रसार गर्न पाउने अधिकारको सम्मान गर्न र आइन्दा कुनै राजनीतिक दलविरुद्ध लक्षित विरोधका कार्यक्रम नगर्न आयोगले राष्ट्रिय जनता पार्टीलाई सचेत गराएको छ


