![]()
काठमाडौँ, २५ जेठ ।
काठमाडौँमा जारी यू–१६ राष्ट्रिय विद्यालयस्तरीय जिम्न्याष्टिक प्रतियोगिताको मिक्स टिम इभेन्टमा एभरेष्ट इङलिस स्कुलले स्वर्ण पदक जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को हातामा शनिबार भएको रोमाञ्चक प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै एभरेष्टले कुल ३५.९ अंक जोडेर पहिलो स्थान हासिल गरेको हो ।
नेपाल जिम्न्याष्टिक संघ र नेपाल विद्यालय खेलकुद महासंघ को संयुक्त आयोजनामा सञ्चालित यस प्रतियोगितामा अन्य विद्यालयहरूबीच पनि निकै कडा प्रतिस्पर्धा देखिएको थियो । टिम इभेन्टतर्फ विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय दोस्रो (रजत पदक) हुन सफल भयो भने एसओएस, सानोथिमिले तेस्रो स्थान (कांस्य पदक) मा चित्त बुझायो ।
एकलतर्फ उत्कृष्ट नतिजा: ५ खेलाडीद्वारा १२ भन्दा माथि अंक प्राप्त
यो पटक केन्द्रीय जिम्न्याष्टिकको ‘इन्डिभिजुअल’ (एकल) प्रतिस्पर्धा अन्तर्गत फ्लोर इभेन्टमा खेलाडीहरूको प्रदर्शन निकै उत्साहजनक र उच्च स्तरको रहेको छ । खेलमा पाँच जना खेलाडीले १२ अंकभन्दा माथि स्कोर गर्न सफल भएका छन् ।
त्यसैगरी ११, १०, ९ र ८ अंक क्रमशः धेरै खेलाडीहरूले प्राप्त गरेका छन् । प्रारम्भिक चरणको यो बलियो नतिजाले आगामी दिनमा हुने अन्तिम चरणका खेलहरूमा अझ कडा र रोमाञ्चक प्रतिस्पर्धा हुने संकेत गरेको छ । पछिल्लो समय जिम्न्याष्टिक खेलप्रति बालबालिकाहरूको आकर्षण ह्वात्तै बढेको र यो खेल नानीबाबुहरूको पहिलो रोजाइमा पर्न थालेको मैदानमा देखिएको उत्साहले पुष्टि गर्छ ।
राखेप सदस्य–सचिव मेहताद्वारा उद्घाटन
यसअघि एक विशेष समारोहका बीच राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहताले प्रतियोगिताको विधिवत् उद्घाटन गरेका थिए । दुई दिनसम्म चल्ने यस प्रतियोगितामा देशभरका विद्यालयहरूको उल्लेख्य र उत्साहजनक सहभागिता रहेको छ ।
प्रतियोगिताको व्यापकताबारे जानकारी दिँदै आयोजक संस्था नेपाल विद्यालय खेलकुद महासंघ का महासचिव राजकुमार कार्कीले भन्नुभयो:
“प्रतियोगितामा विभागीय टोलीका विद्यालयसहित विभिन्न ६२ विद्यालयका १ सय ९६ खेलाडीहरूले सहभागिता जनाएका छन् ।”
नेपाली जिम्न्याष्टिक खेलको जग बलियो बनाउन, ग्रासरुट तहदेखि नै खेलको विकास गर्न र विद्यालय स्तरमा लुकेर रहेका नयाँ एवं प्रतिभावान खेलाडीहरूको पहिचान गर्न यो प्रतियोगिता निकै महत्त्वपूर्ण साबित हुने विश्वास खेल पदाधिकारी तथा प्रशिक्षकहरूले लिएका छन् ।
© everestonlinekhabar.com


