![]()
नयाँ दिल्ली ।
भारतका ‘जेनजी’ (Gen Z) पुस्ताका युवाहरूलाई सडक आन्दोलनमा उतार्ने रणनीतिका साथ ककरोच जनता पार्टीका प्रमुख अभिजित दिपके स्वदेश फर्किने भएका छन्।
लामो समयदेखि अमेरिकाको बोस्टनमा रहँदै आएका नेता अभिजितले सामाजिक सञ्जालमार्फत आफ्नो स्वदेश फिर्तीको घोषणा गरेका हुन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भारत फर्किंदैछु…. आफ्नो भाग्य संविधानको हातमा छाडेर। जय भीम!’
शनिबार दिल्लीमा धर्ना र प्रदर्शनको तयारी
प्राप्त जानकारी अनुसार अभिजित शनिबार बिहान नयाँ दिल्ली विमानस्थलमा अवतरण हुनेछन्। उनको आगमनको अवसर पारेर ककरोच जनता पार्टीले दिल्लीमा विशाल विरोध प्रदर्शन तथा धर्ना कार्यक्रमको आयोजना गरेको छ।
पार्टीले वर्तमान शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामालाई मुख्य माग बनाएर आन्दोलनको घोषणा गरेको हो। शैक्षिक मुद्दा र युवाका समस्याहरूलाई लिएर गरिन लागिएको यस आन्दोलनले भारतीय राजनीति र विशेषगरी युवा पुस्ता (जेनजी) मा कस्तो प्रभाव पार्छ भन्ने कुरालाई निकै चासोका साथ हेरिएको छ। अमेरिकाबाट फर्किनासाथ सडक संघर्षमा होमिन लागेका अभिजितलाई भारतीय युवाहरूले कत्तिको साथ दिनेछन्, त्यो भने आउँदा दिनहरूमा स्पष्ट हुनेछ।


