![]()
काठमाडौं, असार ४ ।
सम्पत्ति शुद्धीकरणको मुद्दामा विशेष अदालतको आदेशपछि विवादित व्यवसायीद्वय दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाइएको छ। विशेष अदालतको आदेशलगत्तै प्रहरीले उनीहरूलाई डिल्लीबजार कारागार पुर्याएको छ।
विशेष अदालतले उनीहरूविरुद्ध लागेको सम्पत्ति शुद्धीकरणको मुद्दामा प्रारम्भिक सुनुवाइ गर्दै मुद्दाको किनारा नलागेसम्म थुनामै राखेर अनुसन्धान र कारबाही अघि बढाउन (पुर्पक्षका लागि थुनामा पठाउन) आदेश दिएको थियो। अदालतको उक्त आदेशपछि कानुनी प्रक्रिया पूरा गरी दुवै जनालाई डिल्लीबजार कारागार चलान गरिएको सुरक्षा स्रोतले जनाएको छ।
व्यवसायिक वृत्तमा निकै प्रभावशाली मानिने भट्ट र अग्रवालमाथि गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको र उक्त सम्पत्ति शुद्धीकरण गम्भीर आरोप छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले लामो समय अनुसन्धान गरेपछि विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
यस घटनालाई नेपालको व्यवसायिक क्षेत्र र वित्तीय अपराध नियन्त्रणको प्रयासमा एउटा ठुलो र महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ।


