![]()
काठमाडौ,८ भदौ ।
स्वास्थ्यमा समस्या देखिएपछि डाक्टर गोविन्द केसी शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुनुभएको छ । बाढी तथा डुवान प्रभावितको उपचारको लागि विहान सप्तरी जाने तयारी गरिरहेका बेला पेट दुख्ने समस्या देखिएपछि उहाँ शिक्षण अस्पतालमा भर्ना हुनुभएको हो ।
डाक्टर केसीको उपचारका पुराना रिपोर्टको जाँच गर्ने काम भैरहेको र त्यसपछि उहाँलाई बिहीबार नै डिस्चार्ज गर्ने या नगर्ने निष्कर्षमा पुगिने चिकित्सकहरुले बताएका छन् । दुखाइ कम भएमा डाक्टर केसी बिहीबार नै सप्तरी जाने सम्भावना पनि रहेको उहाँका सहयोगीले जानकारी दिएका छन् ।
गएको साउन ३१ गते २३ दिन लामो अनसन तोड्नुभएका डाक्टर केसीलाई डाक्टरहरुले आराम गर्न सल्लाह दिए पनि उहाँले बाढी तथा डुवानपीडितको उपचारको लागि सप्तरी जाने तयारी गर्नुभएको थियो । डाक्टर केसी सप्तरी जान नसके पनि उहाँको टिमका अन्य सदस्य भने सप्तरीका लागि काठमाडौंबाट हिँडेका छन् ।


