![]()
मुम्वई,असार ।
बलिउडमा कुनै सयममा सर्वाधिक सफल मानिएकी अभिनेत्री मनिषा कोइराला एक पटक फेरि फिल्मी पर्दामा देखिँदैछन् । एकपछि अर्को फिल्म नचलेपछि लामो समय फिल्मी दुनियाँबाट टाढा रहेकी मनिषा‘दिल से’ र‘मन’ की ग्ल्यामर अभिनेत्रीका रुपमा नभई एक आमाका रुपमा पर्दामा देखिन लागेकी हुन् ।
उनी राजकुमार हिरानीको फिल्म‘सञ्जु’ मा नरगिस दत्तको भूमिकामा देखिएकी हुन् । फिल्ममा रणवीर कपुर सञ्जय दत्तको भूमिका निभाइरहेका छन् भने मनिषा अभिनेता रणबीरकी आमाको भूमिकामा । राजकुमार हिरानीको निर्देशनमा निर्माण भएको फिल्म‘सञ्जु’ २९ जुन अर्थात शुक्रबारबाट रिलीज हुन गइरहेको छ ।
मनिषाले भनेकी छिन्ः‘अभिनेत्रीहरुलाई ४० वर्षपछि केवल आमाको रोल मात्रै मिल्छ, मलाई त्यसमा फस्नु थिएन । म क्यान्सरसँग संघर्ष गरिरहेकी थिएँ । म त हिरानीलाई उनको प्रस्तावअनुसार फिल्ममा काम नगर्ने भन्नलाई गएकी हुँ तर उनले मलाई यसरी कन्भिन्स गरे कि मैले नाई भन्न सकिन । अहिले मलाई यो फिल्मको एक हिस्सा बन्न पाएकोमा गर्व लागेको छ ।’
मनिषाले आफू र विधु विनोद चोपडासँग सम्बन्धित एक घटना पनि सुनाएकी छिन् ।‘१९९४ः अ लभ स्टोरी’ नामक फिल्मको कास्टिङ चलिरहँदा कयौं अभिनेत्रीहरुले स्क्रीन टेस्ट गराएका थिए । त्यो बेला मनिषापनि स्क्रीन टेस्टका लागि पुगेकी थिइन् । मनिषा भन्छिन्ः‘त्यो बेला विधु विनोद चोपडाले अत्यन्तै नराम्रो भने । यो कुराले मेरो चित्त दुख्यो र मैले उनीसँग एक मौका दिन भने ।’
त्यसपछि आफूले दिन–रात स्क्रीन टेस्टको तयारी गरेको र अर्को दिन टेस्ट दिन जाँदा विधु विनोद चोपडा आश्चर्यचकित भएको उनले बताइन् । अभिनयबाट प्रभावित भएका विनोदले आफूलाई अझै राम्रो गर्न सल्लाह दिएको मनिषाको भनाई छ ।
अब मनिषा कोइराला अझै राम्रो अभिनय गर्ने अवसर भएका फिल्महरुमा अभिनय गर्न चाहन्छिन् । आफ्नो उमेर समूहका अभिनेत्रीहरुलाई सुन्दर र जवान देखिन दवाव रहेका बेला मनिषा भने अन्तरमनबाटै स्वस्थ रहनमा जोड दिन्छिन् ।


