Breaking News.... EverestOnlineKhabar
May 26, 2026

गोरखा मिडियालाई काठमाडौँ महानगरको अन्तिम चेतावनी: १५ दिनभित्र ग्यालेक्सी टिभीका सामान नलगे लिलाम गरिने

Loading

एभरेस्ट अनलाइन खबर संवाददाता

काठमाडौँ, १२ जेठ २०८३

काठमाडौँ महानगरपालिकाले गोरखा मिडिया नेटवर्क प्रा.लि.का नाममा १५ दिने सार्वजनिक सूचना जारी गर्दै ग्यालेक्सी फोके (Galaxy 4K) टेलिभिजनका सामानहरू तत्काल उठाउन अन्तिम मौका दिएको छ। तोकिएको म्यादभित्र सामान नउठाए र बाँकी भाडा भुक्तान नगरे ती सामग्रीहरू कानुनबमोजिम लिलाम बिक्री गरिने महानगरले स्पष्ट पारेको छ।

घरधनीको निवेदनपछि महानगरको कडा कदम

काठमाडौँ महानगरपालिका वडा नम्बर ३ निवासी घरधनी मृगेन्द्रप्रसाद मिश्रले गोरखा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईविरुद्ध ‘भाडा असुल गरी घरजग्गा खाली गराइपाऊँ’ भनी मुद्दा दायर गरेका थिए। सोही मुद्दामा महानगरको न्यायिक समिति र उच्च अदालत पाटनको आदेश अनुसार गत कात्तिक महिनामै उक्त घरजग्गा खाली गराइएको थियो।

घर खाली गराएको ६ महिना पूरा भइसक्दा पनि गोरखा मिडियाले टेलिभिजनका सामानहरू कतै नलगी सोही स्थानमा छाडेको थियो। लामो समयसम्म सामान अलपत्र परेपछि घरधनी मिश्रले गत २१ वैशाख २०८३ मा ती सामानहरू लिलाम गरिपाऊँ भन्दै महानगरपालिकामा निवेदन दिएका थिए। सोही निवेदनका आधारमा महानगरले यो अन्तिम सार्वजनिक सूचना जारी गरेको हो।

सूचनामा के छ?www.everestonlinekhabar.com

महानगरपालिकाद्वारा जारी सूचनामा भनिएको छ:

“सूचना प्रकाशित भएको १५ दिनभित्र गोरखा मिडिया नेटवर्क प्रा.लि.ले बुझाउन बाँकी रहेको घरभाडा रकम पूर्ण रूपमा भुक्तानी गरी आफ्ना सामानहरू सम्बन्धित ठाउँबाट लैजानुपर्नेछ। यदि उक्त अवधिभित्र सामान नलगेमा काठमाडौँ महानगरपालिकाको न्यायिक समितिको कार्यविधि अनुसार ती सबै सामानहरू लिलाम बिक्री गरिनेछ।”

जीबी राई अझै फरार, करोडौँको सामान जोखिममा

सहकारी ठगी प्रकरणमा मुछिएका गोरखा मिडियाका अध्यक्ष जीबी राई लामो समयदेखि फरार छन्। अध्यक्ष राई फरार रहेको र कम्पनीका अन्य पदाधिकारीहरू पनि सम्पर्कविहीन बनेको अवस्थामा ग्यालेक्सी टिभीका करोडौँ मूल्यका प्राविधिक सामग्रीहरू लिलामीको संघारमा पुगेका हुन्।

यो सूचनासँगै अबको १५ दिनभित्र गोरखा मिडियाका कोही प्रतिनिधि महानगरको सम्पर्कमा नआए ग्यालेक्सी फोके टेलिभिजनका बहुमूल्य उपकरणहरू कानुनी प्रक्रिया पूरा गरी लिलाम हुने निश्चित भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.