![]()
काठमाडौँ, १७ जेठ (एभरेस्ट अनलाइन खबर)।
नेपाल सरकारका कार्यकारी प्रमुख प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले संसदको रोष्टममा उभिएर दिएको एक अभिव्यक्तिलाई लिएर देशभित्र र बाहिर रहेका नेपालीहरू माझ तीव्र असन्तोष र आलोचना सुरु भएको छ। आज मिति २०८३ जेठ १७ गते संसद्को सर्वोच्च सार्वभौम मञ्चमा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री शाहले “आफ्नै देशले छिमेकीको सीमा मिचेको छ” भन्ने आशयको अभिव्यक्ति दिएपछि चौतर्फी विरोध चर्किएको हो।
प्रधानमन्त्रीको यो भनाइ सार्वजनिक भएलगत्तै सामाजिक सञ्जाल र कूटनीतिक क्षेत्रमा यसलाई ‘आत्मघाती कदम’ को संज्ञा दिइएको छ। मुलुकको अखण्डता र कूटनीतिक मर्यादा जोगाउनु पर्ने उच्च ओहोदामा बसेर आफ्नै मुलुकलाई अतिक्रमणकारीको रूपमा प्रस्तुत गर्नु गम्भीर कूटनीतिक अपराध भएको टिप्पणीहरू उठ्न थालेका छन्।
अन्तर्राष्ट्रिय कानुन र कूटनीतिक संकट
अन्तर्राष्ट्रिय कानुनी सिद्धान्तबमोजिम राज्यको आधिकारिक व्यक्ति (प्रधानमन्त्री) ले बोलेको कुरालाई पछि राज्यले सजिलै नकार्न सक्दैन। विश्लेषकहरूका अनुसार, जब कुनै देशको प्रधानमन्त्रीले आफैँ आफ्नो देशलाई अतिक्रमणकारी करार गर्छ, तब छिमेकी देशले त्यसैलाई बहाना बनाएर थप सीमा मिच्ने वा सैनिक हस्तक्षेप गर्ने नैतिक र मनोवैज्ञानिक बल प्राप्त गर्छ।
प्रधानमन्त्री शाहको यो अभिव्यक्तिले उनको कूटनीतिक र राजनीतिक अपरिपक्वतालाई उदाङ्गो पारेको भन्दै स्वतन्त्र पार्टी तथा सरकारको यो गैरजिम्मेवार कदमविरुद्ध संसद्मा रहेका सबै राजनीतिक दल र नागरिक समाजले एकजुट भएर आवाज उठाउनु पर्ने माग जोडतोडका साथ उठिरहेको छ। संसद् राजनीति अभ्यास गर्ने र छेडछाड गर्ने थलो नभएको भन्दै यसको घोर भर्त्सना भइरहेको छ।

