![]()
काठमाडौँ ।२०८३/०१/२३
काठमाडौँको भेडासिंहस्थित एक चाँदी पसलमा दिउँसै पेस्तोल देखाएर लुटपाटको प्रयास गर्ने मुख्य आरोपीमध्ये एकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा २९ वर्षीय हरिकृष्ण महर्जन रहेका छन्।
प्रहरीको निरन्तरको अनुसन्धान र खोजतलासपछि महर्जनलाई ललितपुरको इमाडोलबाट नियन्त्रणमा लिन सफल भएको हो।
घटनाको विवरण
केही दिनअघि इन्द्रचोकस्थित वविता रौनियारले सञ्चालन गरेको ‘नैना एण्ड इशान ज्वेलरी’मा महर्जन र अर्का एक व्यक्ति ग्राहक बनेर छिरेका थिए। पसलमा छिरेलगत्तै उनीहरूले पेस्तोल निकालेर सञ्चालकलाई धम्काउँदै लुटपाटको प्रयास गरेका थिए। तर, पसल सञ्चालकको प्रतिकार र स्थानीयको सतर्कताका कारण उनीहरूको लुट्ने योजना असफल भएको थियो। लुटपाट गर्न असफल भएपछि उनीहरू घटनास्थलबाट फरार भएका थिए।
घटनालगत्तै सक्रिय भएको प्रहरी टोलीले सीसीटीभी फुटेज र प्राविधिक विश्लेषणको आधारमा आरोपीको पहिचान गरेको थियो। पक्राउ परेका महर्जनमाथि थप अनुसन्धान भइरहेको छ।
फरारको खोजी जारी
घटनामा संलग्न अर्का एक व्यक्तिको पहिचान भइसकेको र उनी अहिले पनि फरार रहेकाले प्रहरीले उनको व्यापक खोजी गरिरहेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले घटनाको गम्भीरतालाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा पारेको र फरार व्यक्ति चाँडै कानुनी दायरामा आउने बताएको छ।
थप अपडेटका लागि हेर्दै गर्नुहोला: www.everestonlinekhabar.com



