Breaking News.... EverestOnlineKhabar
June 4, 2026

इन्धनमा भारी मूल्यवृद्धि: डिजेल र मट्टीतेल प्रतिलिटर ३० रुपैयाँ बढ्यो, यस्तो छ नयाँ मूल्यसूची

Loading

काठमाडौं, वैशाख ३।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ। निगमले बुधबार मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्यमा समायोजन गरेको हो।
नयाँ मूल्यसूचीअनुसार डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ वृद्धि गरिएको छ। यससँगै अब उपभोक्ताले डिजेल र मट्टीतेलका लागि प्रतिलिटर २३७ रुपैयाँ तिर्नुपर्नेछ। यस्तै, हवाई इन्धन (आन्तरिकतर्फ) मा प्रतिलिटर ५ रुपैयाँ बढाइएको छ, जसका कारण हवाई इन्धनको मूल्य प्रतिलिटर २५६ रुपैयाँ कायम भएको छ।
किन बढ्यो मूल्य?
निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको र इन्डियन आयल कर्पोरेसन (IOC) ले पठाएको नयाँ मूल्यसूचीका आधारमा नेपालमा पनि मूल्य समायोजन गरिएको हो।
मूल्य बढाउँदा पनि निगम घाटामा
भारी मूल्यवृद्धि गर्दा पनि निगमले अझै ठूलो घाटा व्यहोर्नु परिरहेको दाबी गरेको छ। निगमले सार्वजनिक गरेको विवरणअनुसार:
पेट्रोल: प्रतिलिटर २ रुपैयाँ ३२ पैसा घाटा
डिजेल: प्रतिलिटर ८७ रुपैयाँ ९९ पैसा घाटा
मट्टीतेल: प्रतिलिटर ३६ रुपैयाँ ७० पैसा घाटा
खाना पकाउने एलपी ग्यास: प्रतिसिलिन्डर ३३१ रुपैयाँ २५ पैसा घाटा
निगमले पाक्षिक रूपमा करिब ७ अर्ब ८१ करोड ६१ लाख रुपैयाँ बराबरको नोक्सानी व्यहोर्दै आएको जनाएको छ। लगातारको घाटाका कारण बाध्य भएर मूल्य बढाउनुपरेको निगमको भनाइ छ।
उपभोक्तालाई महँगीको मार
इन्धनको मूल्यमा भएको यो वृद्धिसँगै बजारमा ढुवानी खर्च बढ्ने निश्चित देखिएको छ। यसको प्रत्यक्ष असर दैनिक उपभोग्य वस्तुको मूल्यमा पर्ने र आम उपभोक्ता महँगीको मारमा पर्ने अनुमान गरिएको छ। साथै, हवाई इन्धन महँगिएसँगै आन्तरिक उडानको हवाई भाडामा समेत वृद्धि हुने संकेत देखिएको छ।
Everest Online Khabar सत्य, तथ्य र निष्पक्ष समाचारको सारथी।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed