![]()
काठमाडौँ, २२,भाद्र — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल सहित ९३ जना व्यक्ति वा निकायलाई प्रतिवादी बनाएर पतञ्जलि योगपीठ जग्गा हिनामिना प्रकरणमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारका अनुसार, सन् २०१० मा नेपाल प्रधानमन्त्री हुँदा मन्त्रीपरिषद्ले काभ्रेपलाञ्चोकको बनेपा क्षेत्रमा रहेको सार्वजनिक गुठी जग्गा हदबन्दी छुट अन्तर्गत पतञ्जलि कम्पनीलाई खरिद गर्न स्वीकृति दिनु, र त्यसपछि अवैध रूपमा जग्गा बिक्री वा सट्टापट्टा गर्न दिनु भ्रष्टाचार हो भन्ने आरोप लगाइएको छ।
२२ जेठमा अख्तियारले पूर्वप्रधानमन्त्री नेपाललाई १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो कायम गरेर भ्रष्ट्राचार मुद्दा दायर गरेको थियो । उद्योग सञ्चालन गर्न भनी हदबन्दी छुट दिइएको जग्गा उद्योग सञ्चालन नगरी दुई महिनाभित्रै कानुन विपरीत बिक्री गर्न नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले स्वीकृति दिएको थियो । मन्त्रिपरिषद्को निर्णयअघि जग्गा बिक्री गर्ने प्रस्ताव ल्याउन नेपालले तत्कालीन भूमिसुधार मन्त्री डम्बर श्रेष्ठलाई निर्देशन दिएका थिए ।
पूर्वप्रधानमन्त्री नेपाल, तत्कालीन भूमि सुधार मन्त्रालयका सचिव छविराज पन्त तथा पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी, नेपालका प्रमुख शालिग्राम सिंहसहित ९३ जनालाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दा सोधसाधका लागि विशेष अदालतले पेसीमा राखिएको हो ।


