![]()
२०७६ पुस २७, काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापा आइतबार बंगलादेश प्रस्थान गरेका छन् । उनी नेपाली सेनाकै ‘एम २८ स्काइ ट्रक’ विमानबाट बंगलादेश प्रस्थान गरेका हुन् । बंगलादेशका सेना प्रमुख जनरल अजिज अहमदको औपचारिक निमन्त्रणामा सात सदस्यीय भ्रमण दलसहित बंगलादेश प्रस्थान गरेको सैनिक मुख्यालयले जनाएको छ । प्रधानसेनापति थापालाई बलाधिकृत रथी शरद कुमार गिरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरेका थिए ।
उक्त अवसरमा नेपालस्थित बंगलादेशका राजदूत, नेपाली सेनाका रथीबृन्द, नेपालस्थित बंगलादेशका सैनिक सहचारीको उपस्थिति थियो । यसअघि प्रधानसेनापति थापालाई जंगी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । भ्रमणका क्रममा उनले बंगलादेशका विभिन्न सैनिक युनिटहरुको भ्रमण, उच्चस्तरीय पदाधिकारीहरुसँग भेटवार्तालगायत ऐतिहासिक स्थलहरुको समेत भ्रमण गर्ने कार्यक्रम छ ।
प्रधानसेनापति थापा माघ १ गते स्वदेश फर्कने कार्यक्रम छ । भ्रमण अवधिभर प्रधानसेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी शरदकुमार गिरीले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्ने भएका छन् । प्रधानसेनापतिको भ्रमणले नेपाली सेना र मित्रराष्ट्र बंगलादेशी सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धको साथै द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास गरिएको नेपाली सेनाले जनाएको छ ।


