Breaking News.... EverestOnlineKhabar
April 19, 2026

Loading

काठमाडौँ । कुनै समय ‘लोकतन्त्रको विश्वविद्यालय’ र ‘वैचारिक पाठशाला’ मानिने नेपाली कांग्रेस यतिबेला इतिहासकै कठिन मोडमा उभिएको छ। पार्टीभित्र चुलिँदो सैद्धान्तिक विचलन र नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै दुई दशकभन्दा बढी समय खर्चेका युवा नेताहरूले धमाधम विकल्प रोज्न थालेका छन्।

नेपाल विद्यार्थी संघ (नेविसंघ) देखि पार्टीको मूलधारमा रगत-पसिना बगाएका ऊर्जावान् नेताहरूको बहिर्गमनले पार्टीको भविष्यमाथि मात्र होइन, कांग्रेसको ‘ब्रान्ड’ माथि नै गम्भीर प्रश्न उठाइदिएको छ।

 सिद्धान्तको स्खलन: सत्ताका लागि ‘सौदाबाजी’

कांग्रेसका आम कार्यकर्ताको सबैभन्दा ठूलो गुनासो पार्टीको वैचारिक जग कमजोर बन्दै जानुमा छ। बीपी कोइरालाको ‘मेलमिलाप र प्रजातान्त्रिक समाजवाद’ को नारालाई बिर्सेर कहिले माओवादी त कहिले एमालेलाई सत्ताको भर्‍याङ बनाउनुलाई धेरैले “आत्मघाती कदम” मानेका छन्।

विशेषगरी, संविधान र लोकतन्त्रको नाममा उग्र-वामपन्थी शक्तिलाई काँध हाल्ने नेतृत्वको निर्णयले इमानदार कार्यकर्तामा निराशा पैदा गरेको छ। यसले कांग्रेसको मौलिक पहिचान मात्र खुम्च्याएको छैन, बरु मुलुकलाई नै दीर्घकालीन रूपमा अपूरणीय क्षति पुर्‍याएको विश्लेषण गरिएको छ।

सिन्डिकेट र ‘परमधाम’ संस्कृति: युवाको भविष्यमा ताला

कांग्रेसभित्रको अर्को घातक रोग ‘निर्वाचन क्षेत्रमा नेताहरूको एकाधिकार’ हो। एकपटक पद पाएपछि ‘परमधाम’ (मृत्यु) नजाउन्जेल कुर्सी नछाड्ने प्रवृत्तिले नयाँ र सक्षम युवा पुस्तालाई नेतृत्वमा आउनबाट रोकेको छ।

  • विकासको नाममा शून्य: वर्षौँसम्म एउटै व्यक्ति पदमा बस्दा न सम्बन्धित क्षेत्रको विकास भयो, न नयाँ भिजनले ठाउँ पायो।

  • ‘जी-हजुरी’ को जमात: पार्टीमा गुण र दोषका आधारमा टिप्पणी गर्ने भन्दा पनि नेतृत्वको “हो मा हो” मिलाउने  हरूको मात्र संरक्षण हुने वातावरणले विचारवान् युवाहरूलाई पाखा लगाइएको छ।

ठेकेदार राज र बिचौलियाको छाया

पार्टीभित्र “त्याग र तपस्या” भन्दा “पैसा र पहुँच” हाबी हुँदै गएको आरोप गम्भीर छ। कांग्रेस बिस्तारै कार्यकर्ताको पार्टी भन्दा पनि ठेकेदार र पैसावालाहरूको क्लब बन्दै गएको देखिन्छ। नीतिगत तहमा बिचौलियाहरूको बढ्दो पहुँचले गर्दा पार्टीको मेरुदण्ड मानिने नेविसंघ र तरुण दल जस्ता भातृ संगठनहरूलाई पंगु बनाइएको छ।

 विकल्पको खोजी: युवाहरूको बाध्यता

२५ वर्षसम्म पार्टीका लागि लडेका र ऊर्जा खर्चिएका नेताहरूले पनि आज “यो घर बस्न लायक छैन” भन्ने निष्कर्ष निकाल्न बाध्य भएका छन्। पार्टीलाई “पैतृक सम्पत्ति” झैँ कब्जा गर्ने नेतृत्वको शैलीले गर्दा होनहार युवाहरूले नयाँ राजनीतिक विकल्प वा स्वतन्त्र मार्ग रोज्ने लहर चलेको छ,नेपाली कांग्रेसले आफ्ना पुराना र इमानदार ‘विद्यार्थी’ (कार्यकर्ता) हरू किन भाग्दैछन् भन्ने विषयमा गम्भीर आत्मसमीक्षा गर्न ढिला भइसकेको छ। नेतृत्वले केवल सत्ता र सिन्डिकेटलाई मात्र प्राथमिकता दिने हो भने, आगामी निर्वाचनमा कांग्रेस केवल इतिहासको पुस्तकमा सीमित हुने र जनताको मनबाट हराउने खतरा निश्चित देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed