Breaking News.... EverestOnlineKhabar
April 20, 2026

Loading

२०७६ माघ २३, काठमाण्डौ – दुई दशक लामो सङ्घर्षपछि रानाथारुहरुले अलग्गै आदिवासी जनजातिका रुपमा पहिचान पाएका छन् । नेपाल सरकारको यही माघ २० गतेको मन्त्रिपरिषद्को बैठकले रानाथारु समुदायको माग र विज्ञको सुझावका आधारमा अलग पहिचान दिएको हो । विसं २०५६ मा तत्कालीन सरकारले आदिवासी जनजाति सूचीकृत गर्दा आफूहरु छुटेको भन्दै रानाथारु समुदाय निरन्तर आन्दोलित थियो । कैलाली र कञ्चनपुरमा गरी झण्डै साढे तीन लाख रानाथारुको बसोबास छ ।

अहिलेसम्म यो समुदायलाई थारु जनजातिको समग्र पहिचानमा समावेश गरिएको थियो । विसं २०६८ को राष्ट्रिय जनगणनामा रानाथारुसहित गणना गर्दा अहिले थारु समुदायको सङ्ख्या कुल १७ लाख ३७ हजार ४ सय ७० (जनसङ्ख्याको ६ दशमलव ६ प्रतिशत) मानिएको छ । कैलाली क्षेत्र नम्बर ५ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट प्रतिनिधि सभाका सदस्य नारदमुनि रानाले सरकारले गरेको निर्णयप्रति आफूहरु उत्साहित भएको भन्दै अब पहिचानसँगै थप अधिकार प्राप्तिको आधार खुलेको बताए । सङ्घीय संसदमा रानाथारुबाट राना एकमात्र सदस्य हुन् ।

सांसद रानाले भने, ’हामीलाई लामो समयसम्म राज्यले चिनेको थिएन । अहिलेसम्म सरकारले चिनेको थिएन । नेकपा नेतृत्वको सरकारले चिनेको छ । अब हाम्रो भाषा, संस्कृति र अधिकारका लागि आवाज उठाउन सहज भएको छ ।’ पाँचौ शताब्दीदेखि यहाँ बसोबास रहेको मानिएको रानाथारु समुदायले सरकारको पछिल्लो निर्णयका स्वागतमा यही माघ २३ गते साँझ कैलाली र कञ्चनपुरका १ सय ३४ गाउँमा दीपावलीको तयारी गरेको छ । विसं २०६४ मा डा. ओम गुरुङको संयोजकत्वमा गठित आदिवासी जनजाति सूची परिमार्जन उच्चस्तरीय कार्यदलले रानाथारुसहित १० जातिको अध्ययन गरी सूची परिमार्जनका लागि सुझाव दिए पनि सरकारले अहिलेसम्म यसबारे निर्णय गरेको थिएन ।

विसं २०४३ मा तत्कालीन राजा वीरेन्द्रले पञ्चायती सरकारका भूमिसुधार मन्त्री लबरु रानालाई रानाथारुको पहिचान दिएपछि रानाबाट रानाथारु भएको थियो । तत्कालीन राजाले मन्त्रिपरिषदमा रहेका दुई राना मन्त्रीलाई कुन राना भन्ने अन्योल भएकाले लबरुलाई रानाथारु भनि सम्बोधन गरेको बताइन्छ । ’इथ्नोलग डटकम’ ले सन् २००६ मा गरेको अध्ययन गरेअनुसार नेपालमा तीन लाख ३६ हजार रानाथारुको जनसङ्ख्या छ भने राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम (एनइजीआरपी) को प्रतिवेदन २०१४ मा रानाथारु समुदायको जनसङ्ख्या तीन लाख ६० हजार रहेको जनाइएको थियो ।

रानाथारुका भाषाविज्ञ कमलसिंह रानाथारुका अनुसार पाठ्यक्रम विकास केन्द्रले रानाथारु भाषाको कक्षा १ देखि ३ सम्मको मातृभाषाको पाठ्यक्रम तयार गरिसकेको छ । यो भाषामा वर्ण निर्धारणसमेत भैसकेको छ जसमा ६ स्वर र ३० वर्ण छन् । भाषा आयोगले पछिल्लो वार्षिक प्रतिवेदनमा विद्यमान १ सय २३ भाषामा रानाथारुसहित ६ भाषा थप गरेको थियो । थारु र रानाथारुबीच जन्मदेखि मृत्युसम्मको १० संस्कारमा भिन्नता पाइन्छ । समुदाय सूचीकृत हुनका लागि १० संस्कारमा भिन्नता हुनुपर्ने मान्यता छ । रानाथारु समुदायले बडादशैँ मनाउँदैनन् । उनीहरुको विशेष पर्व फागुपूर्णिमा मानिन्छ ।

यो पर्व उनीहरुले ३८ दिनसम्म विभिन्न नाचगानसहित मनाउँछन् । यो समुदायले चैत, वैशाख र जेठमा चराइँ पर्व मनाउँछन् भने असारमा असाढी र भदौमा तीज मनाउँछ । नेपाल रानाथारु समाजका केन्द्रीय अध्यक्ष कृपाराम रानाले ठूलो सङ्घर्ष र मेहनतपछि आफूहरु यस चरणमा आइपुगेको र पहिचानयुक्त अधिकारको लडाइँले एक प्रकारको सफलता प्राप्त गरेकाले अब अधिकार र सुविधाका लागि लाग्ने बताए । उनले दुई दशकयताका लगभग सबै प्रधानमन्त्रीसँग समाजले ज्ञापनपत्र बुझाउँदै आएको बताए ।

अध्यक्ष कृपारामले सरकारको निर्णयको स्वागत गर्दै यसले अधिकारलाई पोषित गर्ने सन्दर्भमा बाटो खुलेकाले अब रानाथारुको आयोग वा प्रतिष्ठान बनाएर काम गर्नुपर्ने बताए । उनले आफूहरुको विशेष पर्वमा सार्वजनिक बिदा दिन पनि माग गरे । सरकार र समाजबीच विसं २०६९ जेठ १४ मा भएको आठ बुँदे सहमतिको पहिलो बुँदामा रानाथारुलाई आदिवासी जनजातिमा अविलम्ब सूचीकृत गर्ने उल्लेख थियो । सरकारका तर्फबाट वार्ता टोलीका संयोजक टोपबहादुर रायमाझी र रानाथारु संयुक्त सङ्घर्ष समितिका तर्फबाट प्यारेलाल रानाले हस्ताक्षर गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed