![]()
काठमाडौं । मधेश केन्द्रीत राष्ट्रिय जनता पार्टी, नेपाल (राजपा) संग संविधान संशोधनको कबुल गरेपनि त्यस अनुसार संशोधन गर्न नसकेका सत्तारुढ दलहरुले केही दिनमै व्यवस्थापिका संसद्को बैठकमा संशोधन बिधेयक निर्णयार्थ पेश गर्ने भएका छन । राजपाका नेताहरुले बिधेयक पास फेल जे भएपनि निर्णयार्थ पेश भए तेस्रो चरणको स्थानीय तह निर्वाचनमा भाग लिने बताएपछि सत्तारुढ दलहरु यो निष्कर्षमा पुगेका हुन ।
काठमाडौंमा आइतबार भएको एक अन्तक्रियामा सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले संसदमा विचाराधिन रहेको संविधान संशोधन प्रस्ताव एकदुई दिनभित्रै निर्णयार्थ पेश गर्ने सरकारको तयारी रहेको बताएका छन् । नेता पुनले संशोधन प्रस्ताव टुङगो लगाउने निश्कर्षमा दलहरु पुगेको भन्दै राजपाले परिणाम स्वीकार्न तयार हुनुपर्ने बताए । नेता पुनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेपनि संशोधन प्रस्तावमा लचिलो बन्नुपर्ने धारणा राखे ।
कार्यक्रममा राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले पनि संविधान संशोधन प्रस्तावलाई तत्काल निर्णयार्थ पेश गर्न माग गरे । यादवले उक्त प्रस्ताव निर्णयार्थ पेश गरे आफूहरु खेलको नियम मान्न तयार रहेको स्पष्ट पारे । 
यस्तै, वाणिज्य मन्त्री एवमा कांग्रेस नेता मिन विश्वकर्माले एकै चरणमा निर्वाचन गराउने गरि सरकार गृहकार्यमा लागेको बताए । संविधान संशोधन गर्न सत्तारुढ दलहरु पूर्ण सकारात्मक रहेको उनले बताए ।

नेकपा एमालेका नेता प्रकाश ज्वालाले प्रदेश र केन्द्रको निर्वाचन एकै चरणमा गर्नको लागि आफ्नो पार्टीको सहमति रहेको स्पष्ट पारे । प्रदेश र संघीय संसदको निर्वाचनपछि मात्र संविधान संशोधनको छलफल अघि बढाउनुपर्ने उनले बताए ।


