![]()
काठमाडौं
नेपाली कांग्रेसको संस्थापन इतर समूहले आगामी १५औं महाधिवेशनलाई लक्षित गर्दै काठमाडौं जिल्लामा जिल्ला तथा क्षेत्रीय संयोजकहरू तोकेको छ। यससँगै कांग्रेसभित्र महाधिवेशन केन्द्रित सांगठनिक गतिविधि र तयारीले तीव्र रूपमा गति लिन थालेको छ।

शुक्रबार क्षेत्रपाटीस्थित पार्टी प्यालेसमा बसेको इतर समूहको बैठकले सांगठनिक गतिविधिलाई प्रभावकारी बनाउने उद्देश्यले जिम्मेवारी बाँडफाँट गरेको हो। नेता प्रकाशमान सिंहको सचिवालयले दिएको जानकारी अनुसार, यस समूहले काठमाडौं जिल्ला संयोजकको जिम्मेवारी नेता जयकृष्ण महर्जनलाई दिएको छ।

त्यस्तै, बैठकले काठमाडौं निर्वाचन क्षेत्र नं. १ मा कुश ढकाललाई क्षेत्रीय संयोजकको जिम्मेवारी तोकेको छ। जिल्लाका अन्य क्षेत्रहरूमा पनि क्रमशः जिम्मेवारी तोक्ने काम भइरहेको र यससँगै काठमाडौंमा इतर समूहको आन्तरिक तयारीले तिब्रता पाएको सम्बन्धित नेताहरूले बताएका छन्।

पार्टीको आगामी महाधिवेशनमा इतर समूहलाई थप मजबुत र संगठित रूपमा प्रस्तुत गर्न वडा तहदेखि नै बलियो तयारीमा जुट्ने गरी अहिले द्रुत गतिमा कामहरू अघि बढाइएको छ। संयोजकहरू तोकिएसँगै कार्यकर्ताहरूबीच उत्साह थपिएको र आन्तरिक रणनीति निर्माणका कामहरू व्यापक पारिएको छ।


