![]()
काठमाडौँ।
नेपाली सेनाको जस्तै ‘कमफ्लाज’ पोसाक र सैनिक शैलीको नाम प्रयोग गरेर विवादमा आएको ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज गरिएको छ। भोटेकोशी तथा त्रिशूली बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार र सामाजिक कार्यका नाममा सैन्य शैलीको पोसाकमा देखिएपछि उक्त संस्थामाथि गम्भीर प्रश्न उठेको थियो।

सुरक्षा निकायबाहेक अन्य व्यक्ति वा निजी संस्थाले सैनिक पोसाक र दर्ज्यानी चिह्न प्रयोग गर्दा देशको सुरक्षा व्यवस्थामा चुनौती थपिन सक्ने र सर्वसाधारणमा भ्रम सिर्जना हुने भन्दै गृह प्रशासनको पहलमा कम्पनी रजिस्ट्रारको कार्यालयले संस्थाको दर्ता रद्द गरेको हो। दर्ता खारेजीसँगै संस्थाका सम्पूर्ण गतिविधिमाथि रोक लगाइएको छ।

के हो कानुनी व्यवस्था?
कानुनअनुसार नेपाली सेना तथा अन्य सुरक्षा निकायबाहेक कसैलाई पनि सैन्य वा त्यससँग मिल्दोजुल्दो पोसाक, ‘कम्ब्याट ड्रेस’ वा दर्ज्यानी चिह्न प्रयोग गर्ने अधिकार छैन। पूर्वसुरक्षाकर्मी वा राष्ट्रिय सेवा दलले समेत ‘आर्मी’ शब्द र सैनिक पोसाक सोझै प्रयोग गर्न नपाउने कानुनी प्रावधान रहँदै आएको छ।
गैरनाफामूलक संस्थाका रूपमा दर्ता भएर सुरक्षा निकायको समानान्तर जस्तै देखिने गरी काम गरेको भन्दै नागरिक समाज र सुरक्षा मामिलाका जानकारहरूले यसको कडा आलोचना गर्दै आएका थिए। पछिल्लो निर्णयसँगै सर्वसाधारणको आवरणमा सैन्य पोसाकको दुरुपयोग गर्ने प्रवृत्तिमाथि कडा कानुनी अंकुश लागेको छ।


