![]()

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले संस्थापन पक्षले आयोजना गरेको महाधिवेशन पूर्वसभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन्।
आयोजक पक्षले सहमतिको प्रयास भन्दै देउवालाई महाधिवेशन उद्घाटनका लागि बोलाउने तयारी गरिरहेका खबरहरू सार्वजनिक भइरहेका बेला पोखरा पुगेका नेता महतले त्यसको खण्डन गरेका हुन्। उनले देउवा महाधिवेशनमा जाने कुरालाई ‘झूटको प्रचार’ को संज्ञा दिए।
‘शेरबहादुर देउवा नै महाधिवेशन उद्घाटन कार्यक्रममा आउँदै हुनुहुन्छ भनेर भ्रम फैलाइँदै छ,’ महतले भने, ‘विशेष अधिवेशनबाट आएका पदाधिकारी साथीहरू यस्ता असत्य कुरा भन्न पनि अलिकति हिचकिचाउनुहुन्न।’
यसअघि सभापति गगन थापासहितका शीर्ष नेताहरूले भने पार्टीभित्र सहमतिको वातावरण बनाउन देउवालाई नै महाधिवेशनको उद्घाटन गराउने प्रयास जारी राख्ने बताएका थिए। नेपाली कांग्रेसको महाधिवेशन आगामी १८ गते काठमाडौंमा उद्घाटन हुँदै छ।
महाधिवेशनको संघारमा शीर्ष नेताहरूबीच देखिएको यो दोहोरीले कांग्रेसभित्रको आन्तरिक विवाद अझै साम्य भइनसकेको संकेत गरेको छ।


