Breaking News.... EverestOnlineKhabar
September 17, 2026

नेपाली कांग्रेसमा वारपारको अवस्था: संस्थापन र इतर पक्षबीच समानान्तर महाधिवेशनको होड, पार्टी गम्भीर संकटमा

Loading


काठमाडौँ, असोज १
नेपाली कांग्रेसभित्रको आधिकारिकता विवाद र आन्तरिक शक्ति सन्तुलनको लडाइँ नयाँ र निर्णायक मोडमा पुगेको छ। पार्टीभित्र बढ्दै गएको ध्रुवीकरण र समानान्तर महाधिवेशनका आह्वानले यतिबेला कांग्रेसलाई अभूतपूर्व संकटको भुमरीमा धकेलेको छ।
एकताको आशा गरिरहेका आम कार्यकर्ता तथा शुभचिन्तकहरूका मनमा चिसो पसाउँदै शीर्ष नेतृत्वबीच जारी वक्तव्यबाजीले पार्टी विभाजनको संघारमा पुगेको जस्तो दृश्य देखिएको छ। कतिपय नेताहरू व्यक्तिगत स्वार्थ, बाह्य शक्तिकेन्द्रको प्रभाव वा अपारदर्शी गतिविधिमा अल्झिएर पार्टीलाई कमजोर बनाउन उद्यत रहेको आरोप लागिरहँदा शीर्ष तहमा समीकरण भने तीव्र गतिमा फेरिन थालेको छ।
देउवाको सात बुँदे वक्तव्य र ‘सभापति’को टकराव
विशेष गरी पूर्वसभापति शेरबहादुर देउवाले हालै प्रकाशित गरेको सात बुँदे वक्तव्यले पार्टीभित्रको दूरीलाई झन् छताछुल्ल पारेको छ। बाढीपीडितहरूप्रति समवेदना प्रकट गर्ने बहानामा निकालिएको सो वक्तव्यको अन्त्यमा हस्ताक्षर गर्दा ‘सभापति’ उल्लेख नगरिएको भए पनि पेटबोलीका वाक्यहरूले देउवा स्वयंलाई सभापतिको रूपमा प्रस्तुत गरेका छन्। यसले पार्टीको वैधानिक नेतृत्व कसको हातमा छ भन्ने विषयलाई थप विवादित बनाएको छ।
गगनको असोज अडान भर्सेस देउवाको मंसिर कार्यतालिका
कांग्रेसले चौधौं महाधिवेशनबाट निर्वाचित सबै केन्द्रीय सदस्यहरूलाई समायोजन गर्ने निर्णय गरेलगत्तै संस्थापन र इतर पक्ष स्पष्ट रूपमा दुई ध्रुवमा बाँडिएका छन्। पार्टीका नेता गगन थापा पक्षले आगामी असोजमै महाधिवेशन गर्ने अडान राख्दै तयारी अघि बढाएपछि संस्थापन पक्ष आक्रोशित बनेको छ।
यता देउवा पक्षले गगन थापाहरूले आव्हान गरेको असोजको महाधिवेशनलाई ‘अवैधानिक’ भन्दै त्यसमा सहभागी नहुन आफ्ना कार्यकर्ताहरूलाई खुल्ला आह्वान गरेको छ। देउवा पक्षले आगामी मंसिरमा १५औँ महाधिवेशन गर्ने कार्यतालिका अघि सार्दै आफ्ना पक्षका नेता-कार्यकर्तालाई सोही महाधिवेशनमा सहभागी हुन निर्देशन दिएको छ।
समानान्तर रूपमा भइरहेका यी गतिविधि र दुवै पक्षको आ-आफ्नो अडानका कारण गौरवशाली इतिहास बोकेको नेपाली कांग्रेस इतिहासकै कठिन मोडमा उभिन पुगेको छ। दुई शीर्ष नेताहरूको यो प्रतिष्ठाको लडाइँले पार्टीलाई कुन दिशामा लैजाने हो भन्ने कुराले आम कार्यकर्तामा ठूलो चिन्ता र अन्योल पैदा गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed