![]()
मुख्य समाचार
काठमाडौं, १३ कात्तिक: बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको आंशिक प्रभावका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा निरन्तर वर्षा भइरहेको छ। बिहानैदेखिको झरी र चिसोका कारण सर्वसाधारणको दैनिक जनजीवन, सडक यातायात तथा आवतजावत नराम्ररी प्रभावित बनेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरको मौसम सामान्यतया बदली रहनेछ। चक्रवातको प्रत्यक्ष असरले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ। वर्षासँगै काठमाडौँ उपत्यकालगायत हिमाली तथा पहाडी भेगमा मौसम थप चिसिँदै गएको छ।
सचेत रहन मौसम पूर्वानुमान महाशाखाको आग्रह
मौसममा आएको यो अचानक परिवर्तनका कारण पहाडी तथा जोखिमयुक्त स्थानहरूमा पहिरो जान सक्ने जोखिम बढेको छ। यसले सडक सञ्जाल र आन्तरिक हवाई उडान सेवाहरू समेत प्रभावित गर्न सक्ने भएकाले अत्यावश्यक बाहेकका यात्रा गर्दा विशेष सतर्कता अपनाउन विभागले सर्वसाधारणलाई अनुरोध गरेको छ।
शनिबारसम्म पनि देशका विभिन्न स्थानमा वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना कायमै रहनेछ।
भोलिदेखि मौसममा सुधार आउने
नेपाल मौसम विज्ञान विभागका मौसमविद् डेभिड ढकालका अनुसार चक्रवात ‘अर्नब’ को प्रभाव र वर्षाको गतिविधि शनिबार अपराह्नपछि क्रमिक रूपमा कमजोर हुँदै जानेछ।
हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। भारतमा शक्तिशाली रूपमा विकसित भएको ‘अर्नब’ नेपाल प्रवेश गर्ने क्रममा कमजोर बनेकाले यसको समग्र असर सामान्य नै रहने विभागको भनाइ छ।
मौसमविद्हरूले शनिबार अपराह्नदेखि मौसममा सुधार आउने बताए पनि स्थानविशेषको मौसमसम्बन्धी ताजा सूचनामा अद्यावधिक रहन सबैमा आग्रह गरेका छन्।
सङ्कलित समाचार: www.everestonlinekhabar.com


