![]()
काठमाडौं । सरकारले प्रदेश सभा र संघीय संसद (प्रतिनिधि सभा र राष्ट्रिय सभा ) को निर्वाचन एकैपटक गर्न छलफल अघि बढाएकाबेला निर्वाचन आयोगले भने त्यसो गर्न नमिल्ने प्रतिक्रिया दिएको छ ।
व्यवस्थापिका संसद सुशासन तथा अनुगमन समितिको बैठकमा बोेल्दै प्रमुख निर्वाचन आयुक्त यादवले प्रदेश सभाको निर्वाचन नभई राष्ट्रिय सभा निर्वाचन गराउन मिल्ने अवस्था नरहेको स्पष्ट पारे । प्रमुख आयुक्त यादवले संविधान, कानुन तथा निर्वाचनको व्यवस्थापकीय र प्राविधिक दृष्टिकोणबाट पनि प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन पनि एकैपटक गर्ने अवस्था नरहेको धारणा राखे ।
निर्वाचन आयोगले यसअघि नै असोज अन्तिम साता प्रदेश सभाको, कार्तिकको तेस्रो साता राष्ट्रिय सभाको र मंसिरको पहिलो साता प्रतिनिधि सभा निर्वाचन गर्नेगरी तयार पारेको कार्यतालिका सरकारलाई बुझाई सकेको छ ।
प्रमुख निर्वाचन आयुक्त यादवले तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि भदौ ७ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय र भदौ १२ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने जानकारी पनि दिए । आयोगले भदौ २१ गते उम्मेदवार मनोनयन हुने कार्यतालिका सार्वजनिक गरिसकेको छ ।


