![]()
काठमाडौ,असार ।
प्रवेश गरेको १९ दिनपछि मनसुन देशैभर सक्रिय भएको छ । जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार बुधबारदेखि देशैभर मनसुन सक्रिय भएको हो । पूर्वी वायुले पूर्ण रूपमा पश्चिमी वायुलाई विस्थापित गरेपछि देशैभर मनसुन सक्रिय भएको हो । २५ जेठमा पूर्वी नेपालबाट कमजोर रूपमा मनसुन प्रवेश गरेको थियो ।
यसअघि मनसुनी वायु कमजोर हुँदा पश्चिम नेपालमा मनसुन सुरु हुन सकेको थिएन । आवश्यक वर्षा नहुँदा पश्चिम क्षेत्रमा मकै बाली र धानको ब्याडमा असर परेको थियो । देशैभर मनसुन सक्रिय भएपछि किसानलाई राहत पुगेको छ । बंगालको खाडीबाट पूर्वी जलवाष्पयुक्त हावा बलियो रूपमा आइरहेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिए ।
उनले भनेः‘वायुमण्डलको तल्लो र माथिल्लो भागमा जलवाष्प छ,जलवाष्पकै कारण तीन दिनसम्म देशैभर वर्षा हुने प्रक्षेपण गरिएको छ ।’
औसत वर्षा हुने
जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाको प्रक्षेपणअनुसार यस वर्ष देशभर औसत वर्ष हुनेछ । दक्षिण एसियान क्लाइमेट आउटलुक फोरमले पनि नेपालभर औसत वर्ष हुने प्रक्षेपण गरेको छ । ६ र ७ वैशाखमा भारतको पुनेमा भएको सम्मेलनले नेपालसहित दक्षिण एसियाका देशको मौसम पूर्वानुमान गरेको थियो । दक्षिण एसियन क्लाइमेट आउटलुक फोरमले ३० वर्षसम्मको मौसमलाई आधार बनाई हरेक वर्ष मनसुनको प्रक्षेपण गर्छ ।


