Breaking News.... EverestOnlineKhabar
June 4, 2026

डा.गोविन्द केसीले गरे १५ औं अनसनको घोषणा, अब जुम्लामा असार १५ देखि सत्याग्रह

Loading

काठमाडौ,असार ।
त्रि.वि.शिक्षण अस्पतालका बरिष्ठ हाडजोर्नी विशेषज्ञ डा.गोविन्द केसीले चिकित्सा शिक्षा अध्यादेश पुरानै स्वरुपमा तत्काल जारी नभए असार १५ गतेदेखि अनसन सुरु गर्ने बताएका छन्। डा.केसीले एक विज्ञप्ति निकाल्दै पहिले ल्याइएको अध्यादेशमा कुनै पनि परिवर्तन नगरी जारी गर्न सरकार र राजनीतिक दलहरुसँग माग गरेका छन्। त्यसो नगरिए असार १५ देखि अनसनसहित संघर्षका अन्य कार्यक्रम सुरु गर्ने उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।
डा.केसी १५औं पटक अनसन बस्न लागेका हुन्। विगतमा काठमाडौंमा अनसन बस्ने गरेका उनले यस पटक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको जुम्ला सदरमुकामलाई रोजेका हुन्। अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने क्रममा सुधार अभियानको मर्म नै मर्नेगरी तोडमोड गर्न लागिएको भन्दै केसीले विरोधस्वरुप अनसनको घोषणा गरेका हुन्।
डा.केसीको प्रेस विज्ञप्ति जस्ताको तेस्तैः–
मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार, सबै विपन्न नागरिकहरुको सस्तो, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकार तथा सबै विद्यार्थीको योग्यताका आधारमा निःशुल्क वा सस्तो शुल्कमा चिकित्सा तथा स्वास्थ्य शिक्षाका अन्य विषयहरु पढ्ने अधिकारका लागि हामी निरन्तर लडि आएको विदितै छ।
यसमध्ये पनि मेडिकल शिक्षा क्षेत्रलाई उपयुक्त नियमन गरेर मेडिकल शिक्षा तथा स्वास्थ्य सेवाको गुणस्तर कायम गर्ने तथा यी क्षेत्रमा अहिले भइरहेका अनियमितताहरु रोक्नका लागि कानुनी व्यवस्था गर्नका लागि हामीले चलाएको वर्षौं लामो आन्दोलनको बलमा संसदमा पुगेको चिकित्सा शिक्षा ऐन यस अगाडि विभिन्न राजनीतिक दल र नेताहरुको संकीर्ण स्वार्थका कारण पारित हुन नसकेपछि अध्यादेशका रुपमा जारी भएको थियो।
तर विडम्बना अहिले सो अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने क्रममा सुधार अभियानको मर्म नै मर्ने गरी तोडमोड गरेर ल्याउन लागिएको सुचना हामीलाई प्राप्त भएको छ। त्यस्तो कदम हामीलाई स्वीकार्य छैन।
त्यसैले निःशुल्क पीजीपछिको सेवा अवधि हामीसँग समझदारी भएबमोजिम २ वर्ष कायम गर्नेबाहेक पहिले जारी भएको अध्यादेशमा कुनै पनि परिवर्तन नगरी जारी गर्न सरकार र राजनीतिक दलहरुको गर्दर्छौं। त्यसो नगरिएको खण्डमा यही असार १५ गतेदेखि सत्याग्रहलगायत संघर्षका कार्यक्रम शुरु गर्ने घोषणा गर्दर्छौं।
हामीसित बारम्बार सम्झौता भए बमोजिम सरकारले काठमाडौंबाहिर प्रतिष्ठान वा सरकारी मेडिकल कलेज खोल्ने निर्णय गरे पनि त्यसको कार्यान्वयन झारा टार्ने खालको छ किनभने प्रमुख राजनीतिक दलहरुको नियत नै देशमा स्वास्थ्य सेवा बिस्तार गर्नेभन्दा पनि मेडिकल शिक्षाको व्यापारमा संलग्न नेताहरुको स्वार्थ पूरा गर्ने छ। फलस्वरुप कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको वर्षौंपछि पनि एमबीबीएस विद्यार्थी भर्ना शुरु हुन सकेको छैन भने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र धनगढीको गेटा मेडिकल कलेजको प्रगति उस्तै सुस्त छ। पाँचथर–इलाम, डडेल्धुरा–डोटी र उदयपुरमा सरकारी मेडिकल कलेजहरु स्थापना गर्ने काम हुन सकेको छैन।
त्यसैले यो संवेदनशील विषयमा समेत सबै पक्षहरुको ध्यानाकर्षण गर्नका लागि १५औं सत्याग्रहको स्थल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको जुम्ला सदरमुकाम हुने पनि जानकारी गराउँछौं।
डा.गोविन्द केसी
त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज
२०७५।३।१३

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed