Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

चितवन । भारतीय व्यवसायीले रातो अण्डा उत्पादन गरी लुकाइछिपाइ नेपाल पठाउन थालेपछि आत्मनिर्भर बनेको अण्डा उत्पादन व्यवसायमाथि चुनौती थपिएको छ । यसअघि भारतमा सेतो अण्डामात्र उत्पादन हुने भएकाले सिमानामा रोकिने र आसपासका क्षेत्रमा छिर्नासाथ थाहा हुने भएकाले नेपाल भित्र्याउन कठिन हुने गर्थ्यो ।

भारतमा उत्पादन भएका अण्डा नेपाल भित्र्याउन नपाइने कानूनी व्यवस्था छ तर अहिले रातो अण्डा अवैध रुपमा भित्र्याउन सहज हुँदै आएको छ । नेपाल अण्डा उत्पादन संघका  अनुसार भारतका ठूला होटल, डिपार्टमेन्टल स्टोर्सलगायत ठूला व्यापारिक प्रतिष्ठानमा नबिकेर फर्किएका अण्डा लुकाएर नेपाल पठाउने गरिएको हो । यसका साथै चल्लाका लागि ह्याचरीमा राखेर चल्ला कोरल्न असफल भएका अण्डा पनि अवैधरुपमा नेपाल पठाउने गरिएको छ ।

नेपालमा अण्डा उत्पादनका लागि लोम्यान र हाइल्यान जातका कुखुरा प्रख्यात छन् । यससँगै हाई सेक्स र इसव्रान पनि थोरै संख्यामा नेपालमा पालिँदै आएको छ । तिनले रातो रंगको अण्डा पार्ने गर्छन् ।  भारतमा सेतो अण्डा पार्ने लोम्यान र डाडकक जातका कुखुरा पालिँदै आएको छ । पछिल्लो समय रातो अण्डा पार्न किङ स्टङ पालिँदै आएको व्यवसायीले बताएका छन् ।

भारतमा नेपालमा भन्दा २० प्रतिशत कम लागतमा अण्डा उत्पादन हुने गरेको छ । भारतमा ठूला फार्म छन् । एउटै फार्ममा ८/१० लाखको संख्यामा कुखुरा पालिने, दाना उत्पादन लागत कम हुने, सरकारी अनुदान हुने, बैंक ब्याज कम हुनेलगायतका कारण लागत मूल्य कम हुने गरेको छ ।  भारतीय अण्डा नेपाल छिर्नु यहाँका व्यवसायीका लागि चुनौती हो।  सीमा क्षेत्रमा क्वारेन्टाइनमा कडाइ नगरिएमा ठूलो लगानी भएको आत्मनिर्भर यो व्यवसाय प्रभावित हुने छ ।

भारतीय सीमा क्षेत्र वीरगञ्ज, ठूटीबारी, जनकपुर, सिराहा, धनगढी, बहादुरगञ्ज, महेन्द्रनगर, त्रिवेणीलगायतका ठाउँबाट धेरै अण्डा भित्रिने गरेको छ ।  भारतमा उत्पादन हुने रातो अण्डाको आकार सानो र फुस्रो रातो हुन्छ भने नेपालमा उत्पादन हुने अण्डा चिल्लो रातो र ठूलो हुने भएपनि जो कोहीले आँखाले सहजै पत्ता लगाउन नसक्ने भएकाले अवैधरुपमा भित्रन सहज भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed