![]()
काठमाडौं । स्मार्ट टेलिकमले आइतबारबाट दूरसञ्चार सेवा (फोरजी) सेवा सुरू गर्दैछ । आफ्ना ग्राहकलाई आइतबारदेखि फोरजी सेवा उपलब्ध गराउन सबै प्राविधिक तयारी सकिएको टेलिकमले जनाएको छ ।
पहिलो चरणमा काठमाडौं र पोखरामा फोरजी सेवा दिन लागिएको छ । त्यसपछि क्रमशः देशका अन्य शहरमा पनि सेवा विस्तार गरिने टेलिकमले जनाएको छ । केही समयमै चितवन, बीरगंज र नेपालगञ्जमा पनि फोरजी सेवा पुर्याउने कम्पनीको योजना छ । फोर जीको सुरुवातका अवसरमा विभिन्न डाटा योजना पनि ल्याइएको छ ।
गत जेठमा नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमलाई पनि फोरजी सञ्चालनको अनुमति दिएको थियो । स्मार्ट टेलिकमसँग १ हजार ८ सय मेगाहर्ज ब्यान्डमा १२ मेगाहर्ज फ्रिक्वेन्सी छ । यसमध्ये ५ मेगाहर्जलाई उसले फोर जीमा उपयोग गर्न लागेको हो ।
नेपाल टेलिकमले यसअघि नै फोरजी सेवा सञ्चालनमा ल्याइसकेको छ ।
फोरजी भनेको ‘फोर्थ जेनेरेसन वायरलेस’ अर्थात चौथो पुस्ताको ताररहितको इन्टरनेट डाटा प्रविधि जुन मोबाइल इन्टरनेट प्रबिधिमा सवैभन्दा पछिल्लो प्रबिधि हो । पछिल्लो प्रबिधि भएको हुनाले स्वभाविकरुपमा फोरजी थ्रीजीभन्दा तिब्र गतिको हुन्छ ।
बिभिन्न देशमा टेलिकम कम्पनीहरुले १ सय एमबीभन्दा कम क्षमतामै फोरजी सेवाका रुपमा चलाइरहेका छन् । नेपाल टेलिकमले भने ३० एमबीपीएसमा फोरजी चलाइरहेको छ ।


