![]()
काठमाडौ,१३ भदौ ।
१० वर्षे सशस्त्र संघर्षसँगै २०६३ सालमा शान्तिप्रक्रियामा प्रवेश गरेको नेकपा माओवादी केन्द्र र उसका भ्रातृ संगठनको इतिहासमा पहिलोपटक नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ ।माओवादी केन्द्रले यसअघि पार्टी, पार्टीको सहायक संगठन र भ्रातृ संगठनहरूको नेतृत्व चयन सहमतिको नाममा मनोनीत गर्दै आएको थियो ।
माओवादी केन्द्रको भातृसंगठन अखिल क्रान्तिकारीको २१औं राष्ट्रिय सम्मेलनले भने निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गर्ने भएको छ । २०५२ सालमा माउ पार्टी नेकपा माओवादीले सशस्त्र विद्रोह थालेयता हालसम्म पार्टीका दुईवटा महाधिवेशन भएका छन् । दुईमध्ये एउटा महाधिवेशन भने मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले काठमाडौंमा गरेको थियो । सो महाधिवेशनले समेत सहमतिमै नेतृत्व चयन गरेको थियो ।
पछिल्लोपटक हेटौंडामा सम्पन्न महाधिवेशनले समेत पुष्पकमल दाहाल नेतृत्वमा सिंगो केन्द्रीय समिति सहमतिकै आधारमा चयन गरेको थियो । माओवादी केन्द्रका एक सहायक संगठन (वाईसीएल), प्रमुख र सहायक गरी २१ भ्रातृ संगठन छन् । ती सबैमा हालसम्म सहमतिमै नेतृत्व चयन हुँदै आएका छन् ।
क्रान्तिकारीको यो २१औं एकता महाधिवेशन हो । २०५१ सालदेखि अस्तित्वमा आएपछिको अखिल क्रान्तिकारीले पनि पहिलोपटक निर्वाचनको प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्न लागेको हो । माओवादी घटक संगठनहरूबीच नेतृत्व चयनका लागि अन्तरपार्टी चुनावी प्रतिस्पर्धा यो पहिलोसमेत हो । पार्टी सचिवालय सदस्य तथा अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष लेखनाथ न्यौपाने पार्टीको अबको गन्तव्यसमेत यो निर्वाचनले निर्धारण गर्ने बताउँछन् ।
७ भदौदेखि जारी राष्ट्रिय सम्मेलनअन्तर्गत नेतृत्व चयनका लागि मंगलबार निर्वाचनको कार्यतालिका भएपनि निर्वाचन समिति संयोजक रमेश मल्लले उम्मेदवारहरूको मनोनयन धेरै भएको र प्राविधिक विषय मिलाउँदा बुधबार निर्वाचन हुनसक्ने जानकारी दिए ।


