![]()
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी र पहिरो प्रभावित मध्य तथा सुदूरपश्चिमाञ्चलका बिभिन्न क्षेत्रको स्थलगत तथा हवाइ अवलोकन गर्नुभएको छ । प्रधानमन्त्री देउवाले आज बाँके, बर्दिया र कैलालीका बिभिन्न क्षेत्रको अवलोकन गर्नुकासाथै त्यस क्षेत्रका पीडितहरुको गुनासो पनि सुन्नुभयो । त्यसक्रममा उहाँले राहत पनि बितरण गर्नुभयो ।
प्रधानमन्त्री देउवाले बाढीका कारण मृत्यु भएका बाँकेको राप्ती–सोनारी गाउँपालिका–४ लालपुरका तीनजना बालिकाका परिवारलाई नगद सहयोग गर्नुभयो । गाउँपालिकाको कमैया डाँडामा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले मृतक तीनजना बालिकाका बुबा कमिलाल थारुलाई ६ लाखको चेक हस्तान्तरण गर्नुभयो ।

गत साउन २८ गते राति राप्ती नदीमा आएको बाढीका कारण सो गाउँपालिका–४ लालपुरका एकै परिवारका १२ वर्षीया अञ्जु थारु, नौ वर्षीया सरिता थारु र सात वर्षीया सुस्मिता थारु दिदीबहिनीको मृत्यु भएको थियो ।
कार्यक्रममा प्रधानमन्त्री देउवाले त्यहाँ उपस्थित त्यस क्षेत्रका बाढीपीडित परिवारका सदस्यलाई तयारी खाद्यान्न चिउरा, चाउचाउ, दालमोठ, नून, खाने तेल, पिउने पानी र त्रिपाल प्रदान गर्नुभएको थियो ।
प्रधानमन्त्री देउवाले मुलुकका बाढीपीडितको उचित बसोबास, जीविकोपार्जनका लागि सरकारकातर्फबाट कुनै कसर बाँकी नराखिने उल्लेख गर्नुभयो । उहाँले दैवी विपत्तिका बेला सबैलाइ आ–आफ्नो तहबाट सहयोग गर्न अपिल गर्नुभयो ।
प्रधानमन्त्री देउवाले बाढीप्रभावित मध्यपश्चिमको भ्रमण गरी उद्धारमा खटिएका सेना, प्रहरी र सशस्त्र प्रहरीलाई ३ बुँदे निर्देशन पनि दिनुभएको छ ।
१) बाढी र डुबानमा फसेका नागरिकको उद्धार कार्यलाई थप तीव्रता दिनूहोस् ।
२) उद्दार गरिएका नागरिकको स्वस्थ्य उपचार र आपतकालीन राहतमा कुनै कमी बाँकी नराख्नूहोस् ।
३) उद्दार गरिएका नागरिकको अस्थायी बसोबासको व्यवस्था तत्काल गर्नूहोस् ।

प्रधानमन्त्री देउवाले बर्दियाको भादापुलस्थित गोलपार्क र कैलालीको टीकापुर भजनीमा त्यस क्षेत्रका बाढीपीडितसँग पनि भेटघाट गर्दै राहत बितरण गर्नुभयो ।


