![]()
काठमाडौ,१७ साउन ।
संसदमा विचाराधीन संविधान संशोधन विधेयक टुंगो नलाग्दा राष्ट्रिय सभा निर्वाचन ऐनको मस्यौदा निर्माण प्रभावित भएको छ । निर्वाचन आयोगले निर्वाचनसँग सम्बन्धित अधिकांश विधेयक मस्यौदा सरकारलाई पठाइसके पनि राष्ट्रिय सभासँग सम्बन्धित मस्यौदा अझै पठाएको छैन । यद्धपि आयोगले नै कात्तिकभित्र राष्ट्रिय सभा निर्वाचन सक्नुपर्ने प्रस्ताव सरकारसमक्ष गरिसकेको छ ।
आयोगले राष्ट्रिय सभा निर्वाचन विधेयक मस्यौदा तयारीका लागि बल्ल छलफल थालेको छ । आयोग श्रोत भन्छः‘ राष्ट्रिय सभा गठनसँग सम्बन्धित संविधानमा रहेको व्यवस्था संशोधन गर्न सरकारले दुईपटक संशोधन विधेयक संसदमा लगे पनि टुंगो नलाग्दा मस्यौदा तयारीमा ढिलाइ भएको हो ।’ अब समय निकै कम रहेको भन्दै आयोगले संशोधन नपर्खिई संविधानमा रहेको व्यवस्थाअनुसारै मस्यौदा तयार पार्ने तयारी थालेको हो ।
आयोगले स्थानीय तह निर्वाचन, निर्वाचन आयोग र राजनीतिक दलसम्बन्धी विधेयक मस्यौदा गत वर्ष दशैअघि नै सरकारलाई बुझाएकोमा संसदबाट पारितसमेत भइसकेको छ । फागुन पहिलो साता बुझाएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन विधेयक मस्यौदा भने सरकारले असार अन्तिममा मात्रै संसदमा पेस गरेको छ । त्यसबीच सरकारले मंसिर १४ र चैत २९ मा दुईपटक संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गराएको थियो । अघिल्लो विधेयक फिर्ता लिएर सरकारले दोस्रोपटक अर्को संशोधन विधेयक दर्ता गराएको थियो ।


