![]()
काठमाडौं । मन्त्रीको सपथ लिए लगत्तै लडाकु कमाण्डरको शैलीमा प्रस्तुत भएका उर्जा मन्त्री महेन्द्रबहादुर शाही तत्काल देखिने गरी परिणाम ल्याउने हतारोमा छन । द्वन्द्वकालमा लडाकुहरुको कमाण्ड सम्हालीसकेका मन्त्री शाहीले दुइ हप्ता भित्र परिणाम देखिने गरी काम थाल्न मन्त्रालय र बिद्यूत प्राधिकरणका कर्मचारीलाइ कडा निर्देशन दिएका छन । उनले एक हप्ता भित्र बिद्यूत चुहावटलाइ २३ प्रतिशतबाट १७ मा झार्ने लक्ष्य समेत प्राधिकरणलाइ दिएका छन । मन्त्री शाहीले लामो समयसम्म लाम लागेर महसुल तिर्नुपर्ने झन्झटबाट मुक्ति पाउन अनलाइन प्रणालीबाटै वा मोबाइल फोनमार्फत महसुल तिर्न सकिने प्रणाली जडान गर्न पनि कडा निर्देशन दिएका छन । अहिले प्राधिकरण मन्त्रीका यी दुइ निर्देशनलाइ कडाइपूर्वक कार्यान्वयन गर्न तीव्र रुपमा लागेको छ ।
नेपाल टेलिकमका ग्राहकले घर, कार्यालय, सार्वजनिक स्थानमै बसेर टेलिफोन महसुल तिरेजस्तै बिद्यूत प्राधिकरणले पनि अब प्रविधिको प्रयोग गरेर आफना ग्राहकका लागि त्यस्तै प्रणालीको विकास गर्न लागेको हो । यसलाइ ‘प्रिपेड’ प्रणालीका रुपमा अगाडि बढाउने गृहकार्य सुरु भैसकेको छ ।
प्राधिकरणले यस्तो प्रणाली पहिलो चरणमा महाराजगन्ज र रत्नपार्क वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा जडान गर्नेछ । त्यसपछि मुलुकभर नै त्यस्तो प्रणाली जडान गर्ने तयारी गरिएको छ । यसका लागि आगामी असोज ४ गतेसम्म बोलपत्र पेश गर्ने अन्तिम मिति तोकि सकिएको छ ।
पहिलो चरणमा ९० हजार ग्राहकले शुरुमा यो सेवा लिन सक्नेछन् । अत्याधुनिक स्मार्ट मिटर जडान भएपछि ग्राहकले खपत गर्ने विद्युत् महसुल घरबाटै तिर्नसक्ने र नतिरे स्वतः टेलिफोनको लाइन काटिएजस्तै विद्युत् लाइन काटिनेछ ।
सो प्रणालीको जडानपछि चोरी नियन्त्रण, मिटर रिडिङमा लाग्ने जनशक्ति, ऊर्जा परीक्षण, भार व्यवस्थापनलगायत विद्यमान समस्यामा सुधार आउने अपेक्षा गरिएको छ ।


