Breaking News.... EverestOnlineKhabar
June 19, 2026

माओवादी केन्द्रको ध्यान अब प्रदेश नम्बर २ को चुनावतिर…..

Loading

काठमाडौ,१५ साउन ।
सत्तारुढ दलको एक घटक माओवादी केन्द्रले अब आफ्नो सम्पुर्ण ध्यान असोज २ गते हुने प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा लगाउने भएको छ । माओवादी केन्द्रले प्रदेश २ को स्थानीय चुनाव केन्द्रित तयारीलाई आक्रामक बनाउने रणनीति बनाएको छ । सोमबार राजधानीमा प्रदेश २ का ८ जिल्ला इञ्चार्ज र संयोजकसहित पोलिटब्युरो नेताहरूको भेला बोलाएको माओवादी केन्द्रले बृहत्तर चुनावी रणनीति र प्रचारात्मक प्रशिक्षण गर्ने भएको हो । संविधान संशोधन विधेयक पारित गर्ने प्रयासमार्फत संविधानको स्वीकार्यता बढाउन आफूले पहल गरिरहेको सन्देशसहित कार्यकर्ता स्थानीय तहमा पठाउने तयारीका लागि भेला डाकिएको नेताहरूले जानकारी दिएका छन् । भेलालाई अध्यक्ष पुष्पकमल दाहाल आफैंले सञ्चालन गर्ने भएका छन् ।भर्खरै सकिएको सचिवालयको विस्तारित बैठकले असोज २ को चुनावमा केन्द्रित हुने गरी कार्यक्रम ल्याउने निर्णय गरेको थियो । माओवादीले संविधान र संघीय प्रदेश सीमांकनलाई लिएर मधेसमा केही असन्तुष्टि अझै रहेको भन्दै त्यसलाई सम्बोधन गर्न अधिकतम पहल गर्ने बाटो खोज्ने दाबी गर्‍यो । आइतबार अपराहन पेरिसडाँडास्थित पार्टी मुख्यालयमा बस्ने पार्टी हेडक्वार्टर बैठकले यससम्बन्धी छलफल गर्ने पार्टीले जनाएको छ ।
सिरहाबाट निर्वाचित र अरूले भन्दा मधेस मुद्दा बढी बुझ्ने नेताका रूपमा माओवादीले अध्यक्ष दाहालकै नेतृत्वमा प्रदेश २ को प्रचारात्मक अभियान लैजान लागेको हो । आठ जिल्लामा हुने नगरस्तरीय आमसभालाई दाहाल आफैंले सम्बोधन गर्ने नेताहरूले बताए । मधेसकेन्द्रित नेताहरूले भने तत्कालीन ३० दलीय विपक्षी गठबन्धनका संयोजक दाहालले कांग्रेस र एमालेसँग १६ बुँदे सहमति गरी आफूहरूलाई धोका दिएको प्रचार गरिरहेका बेला माओवादीले यसलाई चिर्ने रणनीति बनाएको हो ।
१६ बुँदे सहमतिकै जगमा जारी संविधानलाई मधेसविरोधी भन्दै मधेस केन्द्रित पार्टीका सांसदहरूले हस्ताक्षर गरेनन् । तर तिनै दाहाललाई प्रधानमन्त्री चुन्ने बेला उनीहरूसमेत संसदमा भोट हाल्न आएका थिए । संविधान संशोधनमार्फत मधेसको चासो सम्बोधन गर्ने आफ्नो अडान यथावत् रहे पनि एक मधेस प्रदेशको माग भने कुनै पनि हालतमा ब्युँताउन नसकिने नेताहरूले जिकिर गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed