![]()
काठमाडौ,१९ साउन ।
हाउजिङ्ग तथा प्लटिङ्गको कारोवार भएको नेपालमा धेरै भएको छैन । तर सबभन्दा बढी फस्टाएको व्यवसाय मानिन्छ । यो व्यवसायमा खर्बौको लगानी भइसकेको छ । तर, वर्षौदेखि सरकारलाई झुक्याउँदै अनियमितता गर्दै आएका यी व्यवसायीहरु अब सरकारको फन्दामा पर्ने भएका छन् । हाउजिङ्ग तथा प्लटिङ्ग गर्ने कम्पनीहरुले सावर्जनिक जग्गा तथा बाटोसमेत बैंकमा राखी ऋण लिएर कारोवार गरेर अनियमितता गरेपछि सरकारले खोजी थालेको हो ।
कम्पनीहरुले बैंक तथा सहरकारीबाट ऋण लिँदा आफ्नो जग्गा बैंकमा नराखी त्यहाँ रहेको सार्वजनिक तथा बाटोहरु बैंकमा राखेर रकम उठाएको पाइएको भूमि सुधार तथा व्यवस्था मन्त्रालयले जनाएको छ । सरकारी मापदण्ड अनुसार कम्पनीहरुले जग्गा प्लटिङ गर्दा अथवा घर बनाउँदा २० रोपनी बराबर ५ प्रतिशत जग्गा तथा २० फिट बाटो छाड्नुपर्ने हो ।
छाडिएका ती जग्गाहरु सार्वजनिक जग्गा हुन् तर कम्पनीहरुले त्यही जग्गा बैंकमा राखेर ऋण लिएका छन् । भूमिसुधार मन्त्रालयले उपत्यकाभित्र अहिले त्यही जग्गा खोजी गरिरहेका छन् । मन्त्रालयले अहिले त्यसका लागि टोली खटाइसकेका छन् ।
२०५६ सालबाट शुरू भएको हाउजिङ व्यवसायमा हालसम्म बैंकहरूले १६ खर्ब ३४ अर्ब रुपैंया भन्दा बढी लगानी गरिसकेको एक तथ्यांकले देखाएको छ । हाउजिङ व्यवसायीहरुले १६ खर्ब भन्दा बढी लगानी गरेको बताइएको छ ।


