![]()
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पूर्व प्रधानमन्त्री एवम नेपाली कांग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको सपना पूरा गर्न आफू तत्पर भएर लाग्ने बताउनु भएको छ ।
चितवन क्षेत्र नं ३ अन्तर्गत मंगलपुरमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले स्थिर सरकार र देश समृद्ध भएमात्रै कोइरालाको सपना साकार हुने बताउनुभयो ।
अध्यक्ष दाहालले विस्तृत शान्ति सम्झौताको एउटा हस्ताक्षरकर्ता आफू र अर्को हस्ताक्षरकर्ता कोइराला रहेको र उनका सपना पूरा गर्ने जिम्मा आफूमा आएको धारणा राख्नुभयो ।
दाहालले भने, “राष्ट्र निर्माणका लागि गिरिजाप्रसादलाई सम्झेर मलाई मतदान गर्न म नेपाली काँग्रेसका कार्यकर्तालाई आग्रह गर्दछु । यस क्षेत्रबाट काँग्रेसका पुराना र संघर्षशील नेता उम्मेदवार भएको भए मेरो प्रतिस्पर्धी हुने थिए तर काँग्रेसको उम्मेदवार नहुँदा मेरो प्रतिस्पर्धी कोही छैन ।”
चितवनलाई विकास र समृद्धिमार्फत देशकै नमूना जिल्ला बनाउन आफ्नो उम्मेदवारी रहेको उहाँले बताउनुभयो ।
केही दिनअघि चितवनकै एक कार्यक्रममा अध्यक्ष दाहालले एमाले नेता मदन भण्डारीका सपना पूरा गर्न आफू प्रतिबद्ध रहेको बताउनुभएको थियो ।


