![]()
काठमाडौँ, भदौ — श्रम संस्कृति पार्टीका सभापति तथा सांसद हर्क साम्पाङ राईले काठमाडौँस्थित राहदानी विभागमा सर्वसाधारणले भोग्दै आएको सास्ती र कानुनी झन्झट तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन्।

सदनमा बोल्दै सभापति साम्पाङले राहदानी बनाउन र लिनका लागि सर्वसाधारणले घन्टौँसम्म लामो लाइनमा बस्नुपर्ने र कैयौँ दिनसम्म धाउनुपर्ने बाध्यताप्रति कडा आपत्ति जनाएका हुन्। देशका दूरदराजबाट काठमाडौँ आएका नागरिकले सामान्य कामका लागि पनि सास्ती पाउनु दुःखी कुरा भएको भन्दै उनले यस्ता प्रशासनिक उल्झनहरू फुकाउन सरकारको ध्यानाकर्षण गराए।
सदनको पोडियमबाट सम्बोधन गर्दै उनले भने, “राजधानीमा भोग्नुपर्ने कानुनी झन्झटलाई चाहिँ हामीले समाधान गरौँ भन्ने सल्लाह म सरकारलाई दिन चाहन्छु।”
सभापति साम्पाङले राहदानी विभागको सेवा प्रवाहलाई प्रविधिमैत्री, सहज र छिटो-छरितो बनाउनुपर्नेमा जोड दिए। सर्वसाधारणलाई सास्ती दिने झन्झटिल्य कानुनी र प्रशासनिक प्रक्रिया अन्त्य नगरेसम्म आम नागरिकले सुशासनको अनुभूति गर्न नसक्ने उनको भनाइ थियो।

