![]()
काठमाडौँ। राष्ट्रिय सभाको बैठक आज दिउँसो १:१५ बजे बस्दै छ। सङ्घीय संसद सचिवालयका अनुसार आजको बैठकमा विभिन्न मन्त्रालयहरूसँग सम्बन्धित लिखित तथा मौखिक प्रश्नहरूको जवाफ मन्त्रीहरूले दिने कार्यसूची रहेको छ।
सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बैठकमा परराष्ट्र, कानुन, न्याय तथा संसदीय मामिला र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित लिखित प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीले टेबल गर्ने कार्यक्रम छ।
यसैगरी, अर्थ मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने सम्भावित कार्यसूची रहेको छ।
विधेयक समितिमा पठाउने प्रस्ताव पेश हुने

आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
संसद सचिवालयका अनुसार बैठकको सम्पूर्ण तयारी पूरा भइसकेको छ।


