![]()
काठमाडौं ।
नयाँ आर्थिक वर्षको सुरुआतसँगै भाेली २०८३/०३/०१ (शुक्रबार) देखि बिजुली र राइड सेयरिङ सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) लागु हुने भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट मार्फत घोषणा गरेको यो व्यवस्था कार्यान्वयनका लागि आन्तरिक राजस्व विभागले सम्पूर्ण प्रारम्भिक तयारी पूरा गरिसकेको छ।
आन्तरिक राजस्व विभागका निर्देशक प्रकाश पौडेलका अनुसार, नयाँ आर्थिक विधेयकको व्यवस्था बमोजिम विद्युत्का उपभोक्ताहरूलाई दुई किसिमको भ्याट दर निर्धारण गरिएको छ।
घरायसी ग्राहकलाई ५ प्रतिशत मात्र भ्याट
विभागले घरायसी ग्राहकहरूलाई ‘अन्तिम उपभोक्ता’को रूपमा वर्गीकरण गरेको छ। जसका कारण सर्वसाधारणले घरमा खपत गर्ने गुड्ने बिजुलीमा ५ प्रतिशत मात्र भ्याट तिर्नुपर्नेछ। यसले आम उपभोक्तालाई ठुलो आर्थिक भार पर्नबाट केही राहत दिने विभागको विश्वास छ।
व्यावसायिक ग्राहकलाई १३ प्रतिशतको पूर्ण भार
घरायसी बाहेकका अन्य सम्पूर्ण वर्गीकरणमा पर्ने उपभोक्ताहरू (जस्तै: उद्योग, कलकारखाना, व्यापारिक प्रतिष्ठान तथा कार्यालयहरू) ले भने नियमअनुसार शतप्रतिशत अर्थात् १३ प्रतिशतकै दरले भ्याट बुझाउनुपर्ने निर्देशक पौडेलले स्पष्ट पारेका छन्।
यसका साथै, आजैदेखि नेपालमा सञ्चालित विभिन्न राइड सेयरिङ सेवाहरूमा पनि मूल्य अभिवृद्धि कर (भ्याट) आकर्षित भएको छ। करको दायरा विस्तार गर्ने सरकारको नीतिअनुरूप यो कदम चालिएको विभागले जनाएको छ। बिजुली र प्रविधिको प्रयोग हुने आधुनिक सेवाहरूमा कर लागु भएसँगै यसले बजार मूल्य र आम सर्वसाधारणको दैनिक जीविकामा कस्तो प्रभाव पार्छ भन्ने चासो चौतर्फी रूपमा बढेको छ।


