![]()
काठमाडौं, ३१ असार ।
सरकार र आन्दोलनरत अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरूबीच सकारात्मक वार्ता भएसँगै आन्दोलनका सम्पूर्ण कार्यक्रम तत्कालका लागि स्थगित गरिएका छन्। सरकारले करार र ज्यालादारीमा कार्यरत कर्मचारीहरूलाई तत्काल नहटाउने आश्वासन दिएपछि आन्दोलनरत पक्ष आन्दोलन फिर्ता लिन सहमत भएको हो।
प्रधानमन्त्री कार्यालयमा भएको वार्तामा सरकारका प्रतिनिधिहरूले हालका लागि कुनै पनि कर्मचारीलाई सेवाबाट नहटाउने मौखिक प्रतिबद्धता जनाएका छन्। सरकारको यो आश्वासनसँगै विगत केही समयदेखि आफ्नो रोजगारीको ग्यारेन्टी माग गर्दै सडक संघर्षमा उत्रिएका कर्मचारीहरू काममा फर्कने भएका हुन्।
वार्ता सकारात्मक, तत्काल नजलाउने सहमति
वार्तामा सहभागी आन्दोलनरत पक्षका संयोजक श्याम सापकोटाले सरकारसँगको संवाद सकारात्मक रूपमा टुङ्गिएको जानकारी दिए। संयोजक सापकोटाका अनुसार सरकारले कर्मचारीका मागप्रति संवेदनशीलता देखाउँदै हाललाई करार र ज्यालादारी कर्मचारी हटाउने कार्य रोक्ने प्रतिबद्धता जनाएको छ।
“सरकारसँगको संवाद अत्यन्तै सकारात्मक रह्यो। तत्कालका लागि कर्मचारीहरूलाई नहटाउने मौखिक प्रतिबद्धता सरकारबाट आएकाले हामीले आन्दोलनका कार्यक्रमहरू स्थगित गरेका छौँ,” संयोजक सापकोटाले भने।
वार्तामा को–को थिए सहभागी?
कर्मचारीका तर्फबाट ६ सदस्यीय वार्ता टोली र सरकारका तर्फबाट उच्च अधिकारीहरूबीच सघन छलफल भएको थियो। वार्तामा सरकारको नेतृत्व प्रधानमन्त्रीका प्रशासनिक सल्लाहकार सुदीप ढकाल र सहसचिव हेमराज अर्यालले गरेका थिए।
लामो समयदेखि सरकारी निकायहरूमा अस्थायी, करार र ज्यालादारीमा कार्यरत कर्मचारीहरूले आफ्नो रोजगारीको सुरक्षा, नवीकरण र दीर्घकालीन व्यवस्थापनको माग राख्दै आन्दोलन गर्दै आएका थिए। सरकारको पछिल्लो निर्णय र आश्वासनले हजारौँ कर्मचारीहरूलाई तत्कालका लागि ठूलो राहत मिलेको छ। यद्यपि, यसको स्थायी समाधानका लागि आगामी दिनमा थप कानुनी र प्रशासनिक प्रक्रिया कसरी अगाडि बढ्छ भन्ने कुरा चासोको विषय बनेको छ।
— everestonlinekhabar.com


