Breaking News.... EverestOnlineKhabar
May 11, 2026

Loading

काठमाडौँ । जनपक्षीय विद्यार्थी युनियन, नेपालले घोषणा गरेको शैक्षिक हड्तालका कारण आज काठमाडौँ उपत्यकाका अधिकांश विद्यालयहरूको पठनपाठन ठप्प भएको छ । विद्यालय प्रशासनहरूले बिहानै अभिभावक र विद्यार्थीलाई सूचना पठाएर विद्यालय बन्द रहने जानकारी गराएका थिए ।

विगत लामो समयदेखि विभिन्न माग राख्दै राजनीतिक दल निकटका विद्यार्थी सङ्गठनहरूले गर्ने यस्ता बन्द र हड्तालले नेपालको शैक्षिक क्षेत्रलाई पुन: अन्योलतर्फ धकेलेको छ । तर, यहाँ प्रश्न उठ्छ— के विद्यालय बन्द गर्नु नै समस्याको निर्विकल्प समाधान हो त? शैक्षिक हड्ताल केवल भौतिक रूपमा कक्षाकोठा बन्द हुनु मात्र होइन, यसले बालबालिकाको मनोविज्ञानमा गम्भीर असर पारिरहेको छ । विज्ञहरूका अनुसार पटक-पटक हुने यस्ता अवरोधले विद्यार्थीमा निम्न समस्याहरू देखिने गरेका छन्,विद्यार्थीको मानसिक स्वास्थ्यमा गहिरो चोट

भय र त्रासको वातावरण: विद्यालय जाँदा कुन बेला के हुने हो भन्ने डरले बालबालिकाको कलिलो मस्तिष्कमा नकारात्मक प्रभाव पार्छ ।

पढाइप्रतिको विकर्षण: नियमित अध्ययनको लय बिग्रिँदा विद्यार्थीमा सिकाइप्रतिको रुचि घट्दै जान्छ ।

भविष्यप्रति अन्योल: बारम्बारको बन्दले गर्दा परीक्षा र शैक्षिक क्यालेन्डर प्रभावित हुँदा विद्यार्थीमा आफ्नो भविष्यलाई लिएर चिन्ता र तनाव पैदा हुन्छ ।

हिंसाको सामान्यीकरण: माग पूरा गराउन ‘बन्द’ नै गर्नुपर्छ भन्ने सोंचको विकास हुनुले समाजमा हिंसात्मक मानसिकतालाई बढावा दिने जोखिम रहन्छ ।

‘शान्ति क्षेत्र’ कागजातमा मात्र सीमित?
नेपाल सरकारले विद्यालयलाई ‘शान्ति क्षेत्र’ घोषणा गरेको वर्षौँ भइसक्दा पनि राजनीतिक स्वार्थका लागि विद्यालयलाई नै तारो बनाउने काम रोकिएको छैन । अभिभावकहरू गुनासो गर्छन्, “जुनसुकै माग भए पनि संवादबाट समाधान खोजिनुपर्छ । विद्यार्थीको भविष्यमाथि खेलबाड गरेर कसैको पनि एजेन्डा सफल हुन सक्दैन ।”शैक्षिक सुधारका लागि दबाब दिनु सकारात्मक भए पनि त्यसको माध्यम ‘विद्यालय बन्द’ हुनु दुःखद पक्ष हो । विद्यालयलाई बन्दको सट्टा सिर्जनात्मक छलफल र शान्तिपूर्ण विरोधको थलो बनाउन आवश्यक छ । शैक्षिक हड्तालले समस्या समाधान गर्नुको सट्टा विद्यार्थीमा मानसिक विचलन र आक्रोश मात्र पैदा गरिरहेको छ ।

अब समय आएको छ— सरोकारवाला पक्षहरूले सोच्ने कि, के साँच्चै बन्द गरेर शिक्षा क्षेत्रमा आमूल परिवर्तन सम्भव छ?

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.