तर, स्थानीय तहको पछिल्लो चुनाव ३० वैशाख २०७९ मा भएको थियो । पाँच वर्षे कार्यकाल पूरा गर्न दिँदा स्थानीय तहको चुनाव २०८४ को वैशाख अन्तिम साता वरिपरी नै हुनेछ ।
आगामी फागुनमा हुने चुनावबाट आउने प्रतिनिधि सभाको कार्यकाल २०८७ सालसम्म रहनेछ । नयाँ आउने प्रतिनिधि सभाबाट बन्ने सरकारले नै प्रदेश र स्थानीय तहको निर्वाचन गराउनेछ ।
विगतमा तीन वटै तहको चुनाव गर्दा संघीय सरकार पनि विदा भएर नयाँ आउने चरणमा हुन्थ्यो । किनभने प्रतिनधि सभाको कार्यकाल समेत सकिने अवस्थामा रहन्थ्यो । अब भने त्यस्तो नहुने भएको वातावरण बनेको छ ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि प्रतिनिधि सभा विघटन भएर आगामी फागुन २१ गतेका लागि चुनावको मिति तय भएको हो ।
जेनजीको आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य भए । प्रतिनिधि सभाबाटै नयाँ सरकार बन्ने अवस्था नरहेपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ ।
अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेर आगामी फागुन २१ गतेका लागि चुनावको मिति घोषणा गरेका हुन् ।
तोकिएको समयमा निर्वाचन भएको अवस्थामा तीन तहको निर्वाचन तीन वटै चरणमा हुने वातावरण बन्ने निर्वाचन आयोगका अधिकारीहरू बताउँछन् ।
उनीहरू एकै पटक तीन तहको निर्वाचन गराउनेबारे छलफलमा थिए । तर, प्रतिनिधि सभा विघटन भएर निर्वाचनको मिति तय भएपछि तीन तहको चुनाव तीन चरणमा नै हुने वातावरण सिर्जना भएको हो ।


