![]()
काठमाडौं — प्रतिनिधिसभा विघटनपछि आन्तरिक छलफलमा रहेका दलहरूले निष्पक्ष, स्वतन्त्र, भयरहीत वातावरण भए जनादेशका लागि जान तयार रहेको बताएका छन् । उनीहरूले घोषित समयमा निर्वाचन हुनुपर्नेमा पनि जोड दिएका छन् । तर यस विषयमा पार्टीबाट निर्णय गर्न भने बाँकी छ । प्रतिनिधिसभा विघटनको विषयलाई लिएर पछिल्लो समय कांग्रेस, एमाले, माओवादी, जनता समाजवादी, लोकतान्त्रिक समाजवादीलगायत आठ दल एक ठाउँमा उभिएका छन् । उनीहरूले संसद् विघटनलाई संविधानविपरीत भन्दै आएका छन् ।
कांग्रेसलगायत दलहरू विगतमा आफूबाट भएका गल्तीप्रति माफी माग्दै जनतामा जानुको विकल्प नभएको केसी बताउँछन् । ‘दलहरू जनतामा जान डराउनु हुँदैन । निर्वाचनबाटै संविधानलाई सही बाटामा अघि बढाउन सकिन्छ,’ उनले भने, ‘दलहरूले चुनावमा जोड दिनुपर्छ । आवधिक निर्वाचनले नै लोकतन्त्र बलियो बनाउन सक्छ ।’
नेता केसीले सिंगै लोकतन्त्र र संविधानवाद रक्षा गर्ने चुनौती अहिले आएको बताए । प्रधानमन्त्री कार्कीलाई संविधान र लोकतन्त्रकै रक्षाका लागि काम गर्न उनले सुझाव दिए ।
निवर्तमान सरकारको नेतृत्व गरेको एमाले पनि चुनावमा जान तयार छ तर उसले निष्पक्ष निर्वाचन हुनेमा आशंका गरिरहेको छ । प्रतिनिधिसभा विघटन सर्वोच्च अदालतको नजिरविपरीत भएको एमालेको निष्कर्ष छ ।


