![]()
काठमाडौँ — प्रदर्शनका क्रममा गरिएको आगजनी र तोडफोडका कारण मुलुकभर निजी व्यावसायिक प्रतिष्ठानका भौतिक संरचनामा क्ष्ँति पुग्दा १३ हजारभन्दा बढी रोजगारी प्रभावित भएको पाइएको छ । यो धेरै रोजगारी प्रदान गरिरहेका होटल तथा पर्यटन क्षेत्र, भाटभटेनी सुपरमार्केट, चौधरी ग्रुप, चन्द्रागिरि केबलकार, मौलाकालिका केबलकारलगायत संस्थाले प्रदान गरेको राजगारीको संख्या हो
आन्दोलनका क्रममा मुलुकभर धेरै उद्योग व्यवसाय र व्यापारिक मलमा क्षति पुगेकाले प्रत्यक्ष रूपमा रोजगारी प्रभावित हुने संख्या अझै बढ्ने सरोकारवालाको भनाइ छ । यद्यपि उल्लिखित व्यावसायिक घरानाले आफ्नो व्यवसायमा क्षति पुगे पनि कर्मचारीलाई तत्काल रोजगारीबाट नहटाउने बताएका छन् । यसकारण कर्मचारीको रोजगारी गुम्नेभन्दा पनि केही समयका लागि प्रभावित भएको हो ।
मुलुकभर भाटभटेनी सुपरमार्केटका २८ शाखामा करिब १० हजार कर्मचारी कार्यरत छन् । तीमध्ये आन्दोलनका क्रममा २१ वटामा क्षति पुगेको छ । तीमध्ये ९ शाखा तोडफोड भए पनि सञ्चालनमा आइसकेका छन् । बाँकी १२ शाखा आगजनीबाट पूर्ण ध्वस्त छन् । ती हाल सञ्चालनमा छैनन् । यसकारण भाटभटेनीमा पुगेको क्षतिबाट करिब ५ हजार रोजगारी प्रभावित भएको अनुमान गरिएको छ । यद्यपि सुपरमार्केटले कुनै पनि कर्मचारीलाई रोजगारीबाट नलिकाल्ने र तत्काल अरु शाखामा काम दिने बताएको छ ।


