![]()

तस्विरमाः पाकिस्तानमा टी.टी.पी. ले हालै गरेको हमलामा मृत्यु भएका एक प्रहरीको अन्तिम संस्कारमा भेला भएका पाकिस्तानी सुरक्षाकर्मी तथा आफन्त
इस्लामावाद, पाकिस्तान
अमेरिकाले एक्युआईएस (भारतीय प्रायद्वीपस्थित अलकायदाको संगठन) का तीन सदस्य र टी.टी.पी. (तहरीक–ए–तालिबान पाकिस्तान) का एक सदस्यलाई आतंककारी घोषणा गरेको छ ।
यसै बिहीबार जारी एक वक्तव्यमा उसले एक्युआईएस का अमिर ओसामा महमुद, सहायक अमिर आतिफ याया घोरी, र मुहम्मद महरुफ (सशस्त्र फौज भर्ती प्रमुख) लाई तोकिएका विशेष आतंकवादीको सूचीमा राखेको बताएको छ । कारी अम्जद (टी.टी.पी. का उपप्रमुख, जो पाकिस्तानको खैबर पख्तुनवा प्रान्तमा गतिविधि गरिरहेका छन्) लाई पनि सो सूचीमा राखिएको छ ।
जारी वक्तव्यका अनुसार, ‘विशेष आतंकवादीे तोकिएका यी व्यक्तिको अमेरिकास्थित सम्पत्ति रोक्का गरिएको छ, साथै कुनैपनि अमेरिकी नागरिकलाई यी व्यक्तिहरुसँग कारोबार गर्न प्रतिबन्ध लगाइएको छ’ ।
एन्थोनी ब्लिंकेन (सेक्रेटरी अफ स्टेट) ले पाकिस्तान र अफगानिस्तानमा कार्यरत सशस्त्र समूहबाट हुन सक्ने खतरा निर्मूल पार्नका लागि ,‘प्रतिआतंकवादका आफ्ना सबै संयन्त्र प्रयोग गर्न अमेरिका प्रतिबद्ध छ’ । उनको यो भनाइले ‘अन्तर्राष्ट्रिय आतंककारी गतिविधिका लागि अफगानिस्तानलाई प्रयोग गर्नबाट रोक्ने आफ्रनो अथक प्रयास’ लाई देखाउँदछ ।
पाकिस्तस्थित तालिबानले केही दिनअघि पाकिस्तानी सरकारसँगको आफ्नो ६ महिने युद्धविराम औपचारिक रुपमा सकिएको जनाएपछि अमेरिकाको यो वक्तव्य आएको हो ।
हालै पाकिस्तानको बलुचिस्तान प्रान्तको राजधानी क्वेटा सहरमा प्रहरीको गाडीमाथि भएको हमलामा तालिबानले जिम्मेवारी लिएको थियो ; सो हमलामा चारजना व्यक्तिको मृत्यु भएको थियो ।
अमेरिकी वक्तव्यमाथि टी.टी.पी. ले खेद व्यक्त गर्नुका साथै आफ्नो कुनै ‘विदेशी एजेन्डा’ नरहेको जनाएको छ । ‘टी.टी.पी. अमेरिका र अरु विदेशी शक्तिसामु यो प्रस्ट पार्न चाहन्छ कि हामी आफ्नो धार्मिक र राष्ट्रियतावादी लक्ष्य प्राप्त गर्न संघर्षरत छौं । हाम्रो कुनै विदेशी एजेन्डा छैन’ हालै जारी एक वक्तव्यमा टी.टी.पी. बताउँदछ ।
अमेरिकाद्वारा जारी सो वक्तव्यपछि अमेरिकी कमान्डर जनरल माइकल कुरिला र पाकिस्तानी सेनाध्यक्ष जनरल असिम मुनिरले एक टेलिकन्फ्रेन्समार्फत ती दुई देशबीच सुरक्षा सहकार्य प्रयास र द्विपक्षीय सम्बन्ध प्रगाढ बनाउने विषयमा छलफल गरेका छन् । अमेरिकी सेन्ट्रल कमान्डद्वारा जारी एक प्रेस विज्ञप्तीमा भनिएको छ ।
पाकिस्तानका आन्तरिक मामिला मन्त्री राणा सलाउल्लाहले टी.टी.पी.सँग सरकार कुनै सहमतिमा नपुगेको बताउनुका साथै थप हिंसा भएमा त्यसप्रति कडा रुपमा प्रस्तुत हुने बताएका छन् । टी.टी.पी. ले हतियार बिसाएको खण्डमा मात्र उसँग शान्ति वार्ता गर्न सकिने उनी भन्छन् ।
यद्यपि उनी बताउँछन् कि, टी.टी.पी. का केही गुट अझै पनि पाकिस्तानसँग लड्न चाहिरहेका छन् । उनी थप्छन् ,‘बढ्दो हिंसाप्रति अफगान सरकारको पनि उत्तिकै चासो रहेको छ, किनकि उसले पाकिस्तान सरकार र टी.टी.पी. का बीचमा वार्ता गराउन सहयोगी भूमिका खेलेको थियो’ ।
गतवर्ष अगस्ट महिनामा अमेरिकी फौजको बहिर्गमनसँगै तालिबानले अफगानिस्तान कब्जा गरेर त्यहाँको सरकार चलाइरहेको छ ।
टी.टी.पी. द्वारा अफगानिस्तानबाट पाकिस्तानविरोधी गतिविधि सञ्चालन तथा आफ्नो भूमिमा हमला नगरोस् भन्ने प्रत्याभूति दिलाउनका लागि अफगानी तालिबान सरकारलाई बेलाबखतमा पाकिस्तानी सरकारले जानकारी गराउँदै आएको छ ।


