![]()
काठमाडौँ, २८ असार ।
वीर अस्पतालको ‘बर्न युनिट’मा उपचारका क्रममा असामयिक निधन भएका मुगुका २५ वर्षीय गणेश नेपालीको परिवार र सरकार पक्षबीच ९ बुँदे सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँमा प्रमुख जिल्ला अधिकारी, काठमाडौँ महानगरपालिकाका प्रतिनिधि र पीडित पक्षबीच भएको वार्ता सफल भएसँगै सहमति पत्रमा हस्ताक्षर भएको हो ।
मुगुको सोरु गाउँपालिका वडा नं. १ जवलधारा निवासी २५ वर्षीय नेपालीको गत असार २६ गते वीर अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । घटनालाई लिएर उत्पन्न विवाद र तनावपछि आइतबार (असार २८ गते) दुवै पक्ष संवादमा बसेका थिए ।
यस्ता छन् सहमतिका मुख्य ९ बुँदाहरू:everestonlinekhabar_news
-
स्वतन्त्र छानबिन समिति गठन: घटनाको सत्यतथ्य र निष्पक्ष छानबिनका लागि नेपाल सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा यथाशीघ्र एक स्वतन्त्र छानबिन समिति गठन गर्नेछ । समितिले ७ दिनभित्र प्रतिवेदन पेस गर्नुपर्नेछ ।
-
शहिद घोषणाको प्रक्रिया अघि बढाइने: स्वर्गीय गणेश नेपालीलाई शहिद घोषणा गर्ने सम्बन्धमा प्रचलित कानुन, विगतको अभ्यास र छानबिन समितिको प्रतिवेदनका आधारमा नेपाल सरकारले आवश्यक निर्णय प्रक्रिया अघि बढाउनेछ ।
-
नगरप्रहरी निलम्बन गरिने: घटना घटेको दिन कार्यक्षेत्रको अग्रभागमा खटिएका काठमाडौँ महानगरपालिकाका महानगरनगरीय प्रहरी बलका कर्मचारीलाई प्रतिवेदन/सिफारिस बमोजिम हुने गरी हाललाई निलम्बन गर्न महानगरपालिकालाई जिल्ला प्रशासन कार्यालयले लेखी पठाउनेछ ।
-
रोजगारी र शिक्षाको ग्यारेन्टी: मृतककी श्रीमती (एकमाया नेपाली) लाई योग्यता र क्षमताका आधारमा काठमाडौँ महानगरपालिकाले रोजगारी सुनिश्चित गर्नेछ । साथै, मृतककी छोरीको उच्च शिक्षासम्मको अध्ययनका लागि सम्पूर्ण खर्च महानगरपालिकाले बेहोर्नेछ ।
-
उचित राहत र क्षतिपूर्ति: काठमाडौँ महानगरपालिकाको आगामी कार्यपालिका बैठकबाट निर्णय गराई मृतकको आश्रित परिवारलाई राहतस्वरूप यथोचित रकम उपलब्ध गराइनेछ ।
-
अन्तिम संस्कार र काजक्रियाको खर्च: मृतकको अन्तिम संस्कार (सद्गत) का लागि आवश्यक पर्ने सम्पूर्ण व्यवस्था तथा काठमाडौँमा गरिने काजक्रियाको आवश्यक व्यवस्थापन काठमाडौँ महानगरपालिकाले मिलाउनेछ ।
-
शव बुझ्ने र कानुनी प्रक्रियामा सहयोग: पीडित परिवार तथा आफन्तजनको तर्फबाट मृतकको शव बुझिलिने, शव परीक्षण (पोस्टमार्टम) लगायतका कानुनी प्रक्रियामा पूर्ण सहयोग र सहजीकरण गरी सद्गत गर्ने जिम्मा लिइनेछ ।
-
यातायात र बसोबास खर्च: मृतकका एकाघरका परिवारजनको आतेजाते (यातायात) खर्च एवम् काठमाडौँमा काजक्रिया अवधिभर रहँदा-बस्दा हुने सम्पूर्ण खर्च काठमाडौँ महानगरपालिकाले बेहोर्नेछ ।
-
स्वास्थ्य बिमाको व्यवस्था: पीडित परिवारका एकाघरका परिवारको स्वास्थ्य बिमाको कार्य स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट आवश्यक व्यवस्था मिलाइनेछ ।
हस्ताक्षरकर्ताहरू:
सहमति पत्रको पहिलो पक्ष (नेपाल सरकार तथा स्थानीय तह) को तर्फबाट काठमाडौँका प्रमुख जिल्ला अधिकारी (प्र.जि.अ.) ईश्वर राज पौडेल र काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (प्र.प्र.अ.) सरोज गुरागाईँले हस्ताक्षर गर्नुभएको छ ।
त्यस्तै, दोस्रो पक्ष (पीडित परिवार तथा वार्ता समिति) को तर्फबाट मृतककी श्रीमती एकमाया नेपाली, बुवा चिने नेपाली, आमा सौरी नेपाली, दाजु मदन नेपाली, बहिनी सुन्दरी नेपालीसहित वार्ता समितिका सदस्यहरू धर्मराज शाही, मन नेपाली, प्रवल कुमार चौलागाई, नवराज न्यौपाने, पदम नेपाली, आशिष देवकोटा र सर्जन बरालले हस्ताक्षर गर्नुभएको छ ।
सहमति भएसँगै पीडित पक्षले शव बुझेर अन्तिम संस्कारको प्रक्रिया अघि बढाउने जनाएका छन् ।


