![]()
२०७७ पुस २४, काठमाडौं । हस्पिटालिटी क्षेत्रमा विश्वप्रसिद्ध चेन होटल रमादा ब्राण्ड नेपालमा भित्र्याइएको छ । ‘रमादा अनकोर काठमाडौँ ठमेल’ नामको यो होटलमा विभिन्न उद्योग, पेशा व्यवसायमा संलग्न नेपाली लगानीकर्ता, विदेशमा रहेर व्यवसाय गरिरहेका गैरआवासीय नेपाली एवम् वैदेशिक लगानीकर्तासमेतको संलग्नता छ ।
विश्वमा नै करिब नौ हजार (सम्बद्ध समेत)को संख्यामा होटल आवद्ध रहेको रमादा ब्राण्डलाई नेपालमा भित्र्याइएको हो । ब्राण्डले निर्दिष्ट गरेको गुणस्तरीयता सम्बन्धी मापदण्डलाई पालना गरेर होटल निर्माण गरिएको छ । नियमितरुपमा गुणस्तरीयताकाबारे प्रशिक्षित गर्ने तथा अनुगमन गर्ने गरी ब्राण्डको सम्झौता भएको कम्पनीले जनाएको छ । पर्यटकीय होटलले पाहुनालाई लक्षित सुविधायुक्त कोठा, टेरेशलगायत विभिन्न रेष्टुरेन्ट, सेमिनार हल, पौडीपोखरी, जिम हल आदि होटलमा चाहिने सबै सुविधाको व्यवस्था रहेको छ । रमादा अनकोर काठमाडौँ ठमेल, ठमेल प्लाजा होटल एण्ड सुइट्स् प्रालिको एक युनिट हो ।
होटलमा सहयोगी बैंकका रुपमा नेबिल बैंक लिमिटेडले फाइन्नान्स गरेको छ । शेयरधनी तथा बैंक लगानीसमेत गरी हालसम्म करिब २०० करोड लगानी भइसकेको र निर्धारित योजना अनुरुप यसलाई विस्तार गर्दा कूल लगानी करिब ३५० करोड पुग्ने अनुमान गरिएको छ । रासस


