![]()
काठमाण्डौ – विश्व यतिबेला कोरोना भाइरस (कोभिड–१९) को सामना गरिरहेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले यसलाई विश्वव्यापी महामारीको घोषणा गरिसकेको छ । कैयौँ देशमा विद्यालयहरु बन्द गरिएका छन्, संघसंस्थाहरुका कर्मचारीलाई बिदा दिएर घरबाटै काम गर्न लगाइएको छ । यात्राहरु रद्द गरिएका छन्, प्रचार तथा फिल्म छायाँकनका कामहरु स्थगित गरिएका छन् ।
यसको असर भारतीय फिल्म उद्योगमा पनि परिसकेको छ, कैयांँ फिल्मको छायाँकन तथा प्रदर्शनको मिति पछाडि धकेलिएका छन् । अभिनेता अक्षय कुमारको बहुप्रतिक्षित फिल्म ‘सूर्यवंशी’ यही मार्च २४ मा रिलिज हुने भनिएको थियो । तर यस फिल्मलाई पनि कोरोना भाइरसको असर परेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार यस फिल्मको प्रदर्शन मिति पछाडि धकेलिने बताइएको छ । फिल्मका निर्देशक रोहित शेट्टी, अभिनेता अक्षय कुमार र निर्माता करण जोहरले रिलायन्स इन्टरटेनमेन्ट फिल्मको प्रदर्शन मिति सार्ने विषयमा बैठक बसेर छलफल गरिसकेका छन् ।
फिल्मको ट्रेलर यही मार्च २ मा सार्वजनिक गरिएको थियो । यस फिल्मको पहिलो गित रिलिज पनि कोरोनाकै कारण स्थगित गरिएको छ । खबरहरुका अनुसार ‘सूर्यवंशी’को टिमले अर्को महिनासम्मको लागि फिल्म प्रदर्शन स्थगित गर्ने बताइएको छ । अक्षय कुमार तथा कट्रिना केफको मुख्य भूमिका रहने यस फिल्ममा अभिनेता अजय देवगन तथा रणवीर सिंहको पनि अतिथि भूमिका रहेको छ । अब फिल्म ‘सूर्यवंशी’ कहिले प्रदर्शन हुन्छ भन्ने बारेमा आधिकारिक घोषणा गरिएको छैन ।


