![]()
पाकिस्तानमा सलह (फट्याङ्ग्रा)ले बानीनाली नष्ट गरेपछि चीनले त्यसको नियन्त्रणमा एक लाख हाँस पठाउने भएको छ । कृषि विज्ञका अनुसार एउटा हाँसले प्रतिदिन २०० भन्दा बढी सलह खान्छ र हाँस कीटनाशकभन्दा बढी प्रभावकारी हुन सक्ने बीबीसीले उल्लेख गरेको छ । तर अर्का अनुसन्धानकर्ताले भने सलह नियन्त्रणका लागि हाँसको प्रयोगको प्रभावकारितामाथि प्रश्न उठाएका छन् । लाखौँ सलहहरूले पूर्वी अफ्रिकामा पनि बालीनाली नष्ट गरिरहेका छन् । चीन सरकारले पाकिस्तानलाई सलहविरुद्ध ‘लक्षित कार्यक्रम’ तयार गर्न विज्ञहरूको टोली पठाउन लागेको घोषणा गरेको हो ।
जजीयाङ् एकेडेमी अफ एग्रिकल्चर साइन्सेसका वरिष्ठ अनुसन्धानकर्ता लु लीझहीले ब्लुमबर्गसँग कुरा गर्दै हाँसहरू ‘जैविक हतियार’ रहेको बताएका छन् । उनका अनुसार एउटा कुखुराले प्रतिदिन करिब ७० वटा सलह खान सक्छ । त्यसको तुलनामा हाँसले तीन गुणाभन्दा बढी सलह खान सक्ने उनले बताए । “हाँसहरू समूहमा बस्न रुचाउँछन् त्यसकारण कुखुराभन्दा उनीहरूलाई व्यवस्थापन गर्न सहज हुन्छ,” उनले चिनियाँ सञ्चारमाध्यमलाई भने । आगामी महिना चीनको पश्चिमी क्षेत्र सिन्जियाङमा हाँसहरू सहितको परीक्षण सम्पन्न हुने लुले बताएका छन् ।
त्यसपछि पाकिस्तानको सिन्ध, बलोचिस्तान र पन्जाब प्रान्तका सबैभन्दा प्रभावित क्षेत्रहरूमा ती हाँसहरू पठाइने छ । तर चीन पठाइने भनिएको टोलीका एकजना सदस्य चाइना एग्रिकल्चर विश्वविद्यालयका प्राध्यापकले भने सलहको समस्या रहने सुख्खा जमिन भएको स्थानमा भने हाँसको प्रयोग अनुकूल नहुन सक्ने बताएका छन् । “हाँसहरू पानीमा निर्भर हुन्छन्। तर पाकिस्तानका मरुभूमिमा तापमान निकै धेरै छ,” प्राध्यापक झाङ लोङले पाकिस्तानस्थित पत्रकारहरूलाई बताए । सन् २००० मा सलहसँग जुझ्न चीनले जजीयाङ्बाट सिन्जियाङ प्रान्तमा ३०,००० हाँस पठाएको थियो ।


