![]()
काठमाडौँ, एभरेस्ट अनलाइन खबर।
तराई–मधेशका विभिन्न जिल्लामा विकसित पछिल्लो घटनाक्रमपछि प्रदर्शन, विरोध र तनाव जारी रहँदा सरकारको भूमिकालाई लिएर चौतर्फी आलोचना सुरु भएको छ। देश नै तनावपूर्ण अवस्थाबाट गुर्ज्रिरहेका बेला प्रधानमन्त्री बालेन्द्र साह (बालेन) र गृहमन्त्री सुधन गुरुङले आवश्यक संवेदनशीलता र प्रभावकारी नेतृत्व देखाउन नसकेको भन्दै राजनीतिक दल, नागरिक समाज तथा विभिन्न सरोकारवालाहरूले गम्भीर प्रश्न उठाएका छन्।
सरकारको कार्यशैलीप्रति असन्तुष्टि
विशेषगरी, देशमा बढ्दो अशान्ति र तनावको अवस्थामा समयमै ठोस र जिम्मेवार पहल नगरेको भन्दै सरकारको कार्यशैली विवादमा परेको हो। विपक्षी दलहरूका साथै विभिन्न सामाजिक र राजनीतिक व्यक्तित्वहरूले घटनालगत्तै सरकारले अपनाउनुपर्ने लचकता र अग्रसरतामा ठूलो कमी देखिएको टिप्पणी गरेका छन्।
अवस्था नियन्त्रणबाहिर जान नदिन र शान्ति सुरक्षा कायम गर्न गृह प्रशासन निष्प्रभावी बनेको आरोप समेत लागेको छ।
सिंहदरबारमा सर्वदलीय बैठक
यसैबीच, देशमा सामाजिक सद्भाव कायम राख्न र राजनीतिक एकताको स्पष्ट सन्देश दिनका लागि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको विशेष पहलमा सिंहदरबारमा सर्वदलीय बैठक आयोजना गरिएको छ।
उक्त बैठकमा मुख्य राजनीतिक दलका शीर्ष नेताहरू, सरकारका प्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिति रहेको छ। बैठकमा मधेशमा जारी तनाव साम्य पार्न, नागरिकको सुरक्षा सुनिश्चित गर्न र विद्यमान समस्याको राजनीतिक समाधान खोज्न सघन छलफल भइरहेको जनाइएको छ।
सर्वदलीय बैठकबाट साझा निष्कर्ष निकालेर तराई–मधेशमा शान्ति, सद्भाव र स्थायित्व कायम गर्न सबै पक्षलाई जिम्मेवार बन्न आह्वान गरिने अपेक्षा गरिएको छ।


