![]()
काठमाडौँ /राजविराज : कांग्रेसको आन्तरिक झगडाको रोग मंगलबार सप्तरीमा भएको राष्ट्रिय जागरण अभियानको समापनमा देखा परेको छ ।
देउवा र पौडेल पक्षबीच कार्यक्रमको मञ्चमै भएको विवाद, हातपात, दुव्र्यवहार र एकअर्काविरुद्धको वक्तव्यबाजी सतहमै देखा परेको छ । हातपात भएपछि रामचन्द्र पौडेल पक्षले कार्यक्रम वहिष्कार गर्दै छुट्टै कार्यक्रम गरेर राष्ट्रिय जागरण अभियानको समापन गरेको छ ।
पार्टीका जिल्ला सभापति दिनेशकुमार यादवको अध्यक्षतामा आयोजित दोस्रो चरणको अभियानको समापन कार्यक्रममा प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरीलाई युवा, विद्यार्थी कार्यकर्ताले मञ्चबाटै धकेलेर लडाएपछि चौधरी नेतृत्वको टोलीले राजविराजको सहिद दर्शन चोकमा छुट्टै कार्यक्रम गरेको हो ।
आशन ग्रहणका क्रममा मर्यादा मिचेको विषयमा विवाद सिर्जना भएपछि सभापति यादव पक्षका कार्यकर्ताले चौधरीमाथि हातपात गर्दै मञ्चबाटै झारेका थिए । चौधरी नेतृत्वले छुट्टै कार्यक्रम गरेको हो ।
चौधरी कांग्रेसबाट सप्तरी जिल्लाको निर्वाचन क्षेत्र ४ बाट निर्वाचित एक मात्र प्रतिनिधिसभा सदस्य हुन् । उनलाई स्थानीय तहका पदाधिकारी पछाडि आसन ग्रहण गराएको विषयमा चौधरीले अध्यक्षता गरिरहेका पार्टी जिल्ला सभापति यादवविरुद्ध कड्किएका थिए । चौधरी कड्किएपछि सभापति पक्षका कार्यकर्ताले उनलाई धक्का दिएर मञ्चबाट निकालेका हुन् ।
हातपातपछि कार्यक्रम बहिष्कार गर्दै चौधरीले दर्शन चोकमा छुट्टै कोणसभा गरेका हुन् । जिल्ला सभापतिको निर्देशनमा कांग्रेसकै भातृ संगठनले आफूमाथि हातपात गर्नु अत्यन्त गलत भएको बताउँदै सांसद चौधरीले पार्टी सभापतिलाई साधारण सदस्यसमेत नरहने गरी कारवाही गर्न माग गरेका छन् ।
पार्टी सभापतिको नेतृत्वमा भएको कार्यक्रम बहिष्कार गर्दै सांसद चौधरीसँगै नाराजुलुस गर्दै निस्किएका अर्का संघीय सांसद नमिताकुमारी चौधरी, पूर्वसंविधान सभा सदस्य रन्जित कर्ण, संघीय संसदका उम्मेदवार रामदेव साह, पार्टीका क्षेत्रीय सभापति बद्रीनारायण महात्मान यादवलगायतले पार्टी सभापतिको अराजकता र दुव्यर्वहारको निन्दा गरे ।
सांसद चौधरीसहित क्षेत्रीय सभापति बद्रीनारायण महात्मान, प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामदेव साह, महासमिति सदस्य, जिल्ला सदस्य, नेविसंघ र तरुण दलका सभापतिले संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी सभापति यादवलाई साधारण सदस्यसमेत नरहने गरी कारवाही गर्न माग गरेका छन् ।
गत भदौ २५ गतेदेखि प्रारम्भ भएको ‘हिमाल, पहाड, तराई–मधेस नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’को दोस्रो चरणको मंगलबार मुलुकभरका सदरमुकाममा जुलुस, सभा गरी समापन गरिएको छ ।


