![]()
काठमाडौँ — गृहमन्त्री रामबहादुर थापाले फागुन २४ गते सरकार र सिके राउतबीच भएको राजनीतिक सहमतिलाई गलत अर्थ लगाइएकोप्रति आपत्ति जनाएका छन् । उनले मुलुकका चुनौतीहरूलाई सरकारले सफलतापूर्वक समाधान गर्दा विभिन्न कोणबाट अनर्थ लगाइएकोप्रति सरकार आश्चर्यचकित भएको बताए । आइतबार प्रतिनिधिसभाको बैठकमा सरकार र सिके राउतको स्वतन्त्र मधेस गठबन्धनबीच भएको सहमतिबारे सांसदहरूले प्रश्न उठाएपछि गृहमन्त्री थापाले सरकारकोतर्फबाट संसद्मा सहमतिबारे स्पष्ट पारेका हुन् । उनले राजनीतिक समस्यालाई राजनीतिक रूपबाट हल गर्नुपर्नेमा सरकार स्पष्ट रहेको बताउँदै, त्यही प्रयासको प्रतिफल २४ गतेको सहमति भएको बताए ।गृहमन्त्री थापाले स्वतन्त्र मधेस गठबन्धन समूहले नेपाललाई विखण्डन गर्ने उद्देश्यलाई परित्याग गरेको दाबी गरे । उनले मधेस गठबन्धनसँग नेपालको राजनीतिक अखण्डता,स्वाधीनता रक्षा गर्न सहमति जुटेको बताए । उनले भने,’स्वतन्त्र मधेसी गठबन्धन यो निर्णयमा पुग्नु संविधान विरोधी भयो ? सहमति गर्नु के यो संविधान विरोधी हो ?’मुलुकमा दुईवटा समूहहरू सक्रिय थिए । एउटा राज्य व्यवस्थाप्रति असन्तुष्ट जनाउने र अर्को विखण्डनको मुद्दा उठाउने,’ गृहमन्त्री थापाले भने, ‘ती समूहहरू निरन्तर रूपमा सक्रिय रहँदै आएका थिए । त्यही क्रममा स्वतन्त्र मधेस गठबन्धनको नाममा एउटा समूह सक्रिय थियो । यस्ता समूहहरूलाई नियन्त्रण गर्ने प्रयासस्वरुप स्वतन्त्र मधेस गठबन्धनसँग राजनीतिक सहमति जुट्यो । ‘


