![]()
काठमाडौँ — भारतको निर्वाचन आयोगले आइतबार साँझ संघीय संसद लोकसभाको चुनावको मिति घोषणा गर्ने भएको छ । आइतबार साँझ पाँच बजे पत्रकार सम्मेलनमार्फत चुनावको मिति घोषणा गरिने जानकारी दिइएको छ । चालु लोकसभाको पाँच वर्षे कार्यकाल आगामी ३ जुनमा पुरा हुँदैछ ।भारतको संविधानले त्यसअघि नै नयाँ लोकसभा गठन भइसक्नुपर्ने व्यवस्था गरेको छ। त्यही व्यवस्थाअनुरुप नयाँदिल्लीको विज्ञान भवनमा हुने पत्रकार सम्मेलनमा आयोगले १६ औं लोकसभाको मिति घोषणा गर्न लागेको हो।भारतीय सन्चारमाध्यमका अनुसार आगामी लोकसभा चुनाव सात देखि आठ चरणमा हुनेछ। ५४३ सदस्यीय (थप दुईजना मनोनित) लोकसभाको चुनाव विभिन्न चरणमा हुँदै आएको छ। पहिलो चरण अप्रिलको पहिलो साताबाट सुरु भएर अन्तिम चरण मेको तेस्रो साता हुने अनुमान छ।
सन् २०१४ मा चुनावको घोषणा ४ मार्चमै भएको हुँदा यसपटक मिति घोषणा गर्न ढिलाई गरेको भन्दै विपक्षी दलहरुले आयोगको आलोचना गरेका थिए। उनीहरुले निर्वाचन घोषणामा ढिलाई हुनुका पछाडि वर्तमान नरेन्द्र मोदी नेतृत्वको सरकारलाई विकासका नयाँ योजनाहरु घोषणा गर्न र आफ्नो प्रचारप्रसारका लागि पर्याप्त समय दिने नियत रहेको आरोप लगाएका छन्।विगत केही दिनयता भारतीय सन्चारमाध्यमहरुमा मोदी सरकारले गरेको विज्ञापनले पनि विपक्षीहरुको उक्त आरोपलाई केही हदसम्म सही ठहर्याउँछ। पछिल्लो समयमा दिल्लीबाट प्रकाशित हुने प्रमुख अखबारहरु मोदी सरकारका नयाँ कार्यक्रम र विगत पाँच वर्षका उपलब्धीहरु समेटिएका विज्ञापन सामग्रीले भरिएका छन्। निर्वाचन घोषणासँगै जारी हुने आचारसंहिताका कारण सरकारले नयाँ योजना तथा कार्यक्रमहरु घोषणा गर्न पाउँदैन।
आयोगले आजै लोकसभाको चुनावको घोषणासँगै आन्ध्र प्रदेश, उडिसा, सिक्किम र अरुणाचल प्रदेशको विधान सभा चुनावको मिति पनि घोषणा गर्ने अनुमान पनि गरिएको छ।


