![]()
बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ९० को दशकमा कर छली गरेको दाबी गर्दैै न्युयोर्क टाइम्सले समाचार प्रकाशित गरेको छ । ट्रम्पले आफूलाई ‘सेल्फमेड बिलेनियर’ दाबी गर्छन् । तर उनले आफ्ना पिता फ्रेड ट्रम्पको रियल स्टेट कारोबारबाट ४१ करोड डलर प्राप्त गरेको बताइएको छ । अमेरिकी कर विभागले ट्रम्पविरुद्ध लागेका यो आरोपका बारेमा अनुसन्धान गरिरहेको छ ।
ट्रम्पका बाबुआमाले १०० करोडभन्दा बढी सम्पत्ति आफ्ना छोराछोरीलाई दिएका थिए । नियमअनुसार यसमा ५५ करोड डलर कर लाग्थ्यो । तर उनले आफ्ना भाइ बहिनीलाई गलत जानकारी दिएर ५.५२ करोडमात्र कर तिरे।
न्युयोर्क टाइम्सका अनुसार ट्रम्प आफ्ना बाबुबाट कुनै पनि प्रकारको आर्थिक सहयोग प्राप्त नभएको बताउने गरेका छन् । तर उनले सानैदेखि आफ्ना बाबुको कारोबारको फाइदा उठाइरहेका छन् । ट्रम्प र उनका भाइबहिनीले नक्कली संस्था खडा गरेर बाबुआमाबाट पाएको रकम लुकाएको दाबी पनि समाचारमा गरिएको छ । ट्रम्पले जहिले पनि आफ्ना बाबुबाट १० लाख डलर ऋण लिएर १० अर्ब डलरको साम्राज्य खडा गरेको दाबी गर्ने गर्छन् । तर न्युयोर्क टाइम्सको उक्त समाचारमा यो दाबीलाई गलत बताइएको छ ।
न्युयोर्क टाइम्सले १ लाख दस्तावेज र ट्रम्प परिवारसँग जोडिएका व्यक्तिसँग अन्तर्वार्ता गरेर यो दाबी गरेको हो । यद्यपि ट्रम्पका वकिलले यी सबै आरोपलाई अस्विकार गरेका छन् । ट्रम्पका भाइ रबर्ट ट्रम्पले आयकर रिटर्नमा कुनै गडबडी नभएको र पूरै कर तिरेको दाबी गरेका छन् ।


